Logo
Logo

पर्सा १ : कर्ण र प्रदीपमाथि यसकारण भारी पर्न सक्छन् द्विवेदी


504
Shares

वीरगन्ज । मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्यको निर्वाचन आउन १२ दिन बाँकी छ । मुलुकका प्रमुख राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । यस्तोमा पर्सा निर्वाचन क्षेत्र १ को निर्वाचन रोचक हुने देखिएको छ ।

वीरगञ्ज महानगरका १९ वडा रहेको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ११ जनाको स्वतन्त्र उम्मेदवारी छ ।

यस क्षेत्रमा सत्ता गठबन्धतर्फबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लक्ष्मणलाल कर्ण, नेकपा एमाले र जसपाको तालमेलबाट जसपाका प्रदीप यादव र कांग्रेसले टिकट नदिएपछि गठबन्धनको ‘बागी’ बनेर स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार द्विवेदीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले जितको दाबी गरिरहेका छन् । तर, सत्ता र विपक्षी गठबन्धन दुवैले द्विवेदीलाई मुख्य प्रतिस्पर्धी मानेका छन् ।

विगतमा नेपाली कांग्रेसको सभापतिसमेत रहेका द्विवेदी एकपटक संविधानसभा सदस्य र त्यसअघि वीरगञ्ज महानगरको उपमेयर भइसकेका छन् । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस र विपक्षी गठबन्धनका असन्तुष्टको सहयोगमा द्विवेदीले बाजी मार्ने सम्भावना पनि देखिन्छ ।

कर्ण र यादवको चुनावी प्रचारप्रसार र अभिव्यक्तिलाई हेर्दा दुवै जनालाई द्विवेदी पराजयको कारण बन्ने डर छ । गठबन्धनमा रहेका कांग्रेसी भोट द्विवेदीलाई जाँदा आफू कमजोर हुने भय कर्णलाई छ भने एमाले–जसपा गठबन्धनका यादवलाई पनि त्यस्तै त्रास देखिन्छ ।

अन्तिम समयमा आएर एमालेसँग चुनावी तालमेल गरेको जसपाभित्र प्रदीपलाई नरुचाउने र जसपा तालमेलमा आएपछि टिकट खोसिएका र असन्तुष्ट बनेका एमालेका स्थानीय नेता कार्यकर्ताको सहयोग द्विवेदीले पाउने भयमा प्रदीप छन् । तर, सबै उम्मेदवारले आफू निर्वाचित हुने दाबी भने छोडेका छैनन् ।

आफू सधैं जनताको बीचमा रहेको र सांसद हुँदा थुप्रै काम गरेकाले यसपटक पनि जित्ने प्रदीपको दाबी छ । उनी २०७४ मा पर्सा १ बाटै सांसद चुनिएका थिए । गत स्थानीय चुनावमा सत्ता गठबन्धनबाट जसपाले वीरगञ्ज महानगरको मेयर जितेको थियो । पर्सा–१ मा पर्ने १९ वडामध्ये जसपाले ८, एमालेले ६, कांग्रेसले ४ र लोसपाले एउटा वडामा मात्र जित निकालेका थियो ।

यसअघि २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा मधेशवादी गठबन्धनबाट सांसद चुनिएका कर्ण यसपटक क्षेत्र फेरेर १ मा आएका हुन् । उनी सत्ता गठबन्धनका सबै दलको सहयोग रहेकाले आफ्नो जित निश्चित भएको बताउँछन् ।

टिकट नपाएको झोकमा स्वतन्त्र रूपमा मैदानमा उत्रिएका द्विवेदी नेपाली कांग्रेसका नेता, कार्यकर्ता र मतदाताको भोट पाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्