
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकियो, निर्वाचन आउन अब ११ दिन बाँकी, राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दार्चुलामा ।

२. कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नक्सा छाप्न बाध्य भएको दाबी, ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको टिप्पणी ।

३. एमाले अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठोकुवा, पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको भनाइ, निर्वाचन आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउने टिप्पणी ।

४. निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा नगर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको आग्रह, निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने स्थानीय तहलाई कारबाही गरिने ।

५. वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव, कात्तिक महिनामा मेलम्चीको पानी राजधानी ल्याउने भनिएपनि यो महिनामा पानी नआउने निश्चित, हेलम्बु गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैँले अझै बनाउन सकेन ।

६. निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारियो, झन्डै तीन लाख सुरक्षाकर्मी परिचालित, तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित, मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृहको भनाइ ।

७. डोटी केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु, पाँच जना घाइते, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा ।

८. नेपाली कांग्रेसद्वारा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही, उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उहाँका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही, क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्की पनि कारबाहीमा ।

९. मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफ काठमाडौंलाई, राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध, एपीएफका लागि ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै निर्णायक गोल बन्यो ।

१०. अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी, मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डा ह्यारी भण्डारी र न्युयोर्कको राज्यसभामा सरहाना श्रेष्ठ निर्वाचित, आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधार गर्ने प्रतिबद्धता, आफूलाई सहयोग गर्ने नेपाली अमेरिकीलाई धन्यवाद दिए ।
