Logo
Logo

लुम्बिनी प्रदेशका २१ हेभिवेट नेता चुनावी मैदानमा, को-को पुग्लान संसद ?


1.3k
Shares

लुम्बिनी । राष्ट्रिय राजनीतिमा लामो समय यता प्रभावशाली भूमिकामा देखिएका कतिपय नेताबीचको प्रतिस्पर्धाका कारण लुम्बिनी प्रदेशका कैयौँ क्षेत्रमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन रोचक देखिएको छ।

किनकि आपसमा भिडेका तीमध्ये एक जना मात्रै संसद् छिर्न पाउनेछन्। चुनावी प्रचार अभियान जारी रहँदा उम्मेदवारहरू घर दैलो अभियान र शुभेच्छुकको भेला आयोजना गरेर भोट माग्न व्यस्त छन्। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधिसभातर्फ ३४६ र प्रदेशसभातर्फ ४९५ उम्मेदवार छन् । साढे ३२ लाख मतदाता रहेको उक्त प्रदेशमा अधिकांश ४० वर्ष भन्दा कम उमेरका छन् ।

रुपन्देही-३ : बालकृष्ण खाण र दीपक बोहरा
कूल मतदाता मध्ये आधा भन्दा थोरै कम महिला मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ। गृहमन्त्री बालकृष्ण खाण अघिल्लो चुनावमा आफ्नो दलले सघाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहरासँग रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मध्ये एक ठानिने खाण यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेका खाण गृहमन्त्री बन्नु अघिसम्म कांग्रेसको प्रमुख सचेतक समेत थिए । बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले साथ दिने घोषणा गरेका छन् ।

स्थानीय चुनावमा उक्त क्षेत्र अन्तर्गत पर्ने स्थानीय तहमा पाँच दलीय गठबन्धन भन्दा एमाले, जसपा र राप्रपाले बढी मत ल्याएका थिए । गृहमन्त्री खाणले घरदैलो कार्यक्रमदेखि विभिन्न पेसागत र व्यवसायीहरूका भेलाहरूमा सम्बोधन गरिरहेका छन्।

अघिल्लो संसदीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले मिलेर निर्वाचन लड्ने निर्णय गरेपछि बोहरालाई समर्थन गर्नुपरेको उनले बताए । उनले भने, ‘त्यतिखेर राप्रपाले संविधान पनि मानेको थियो। अहिले त्यसका नेताहरूले संविधानका मूल अवधारणाहरूमा नै असन्तुष्टि जनाउनुभएको छ र सकेको दिन यो संविधान उल्टाउँछौँ भन्नुभएको छ। संविधान उल्टाउने विचार राख्नेसँग अहिले हाम्रो सहकार्य हुँदैन।’

हाल अस्वस्थ रहेका बोहराको चुनावी अभियानको नेतृत्व पूर्व गृह राज्यमन्त्री निरञ्जन थापाले गरिरहेका छन्। जनताको जीवनस्तर उकास्ने र लुम्बिनी केन्द्रित पर्यटनका योजनालाई अघि बढाउने प्रतिबद्धता दुवै उम्मेदवारले गरेका छन्।
७२ वर्षका बोहराले अन्तिम पटक चुनाव लडिरहेको घोषणा गर्दै आएका छन् । पञ्चायत कालदेखि गणतन्त्रसम्म मन्त्री भइसकेका बोहरा र खाणमध्ये एक जनालाई मात्रै अबको संसदमा देख्न पाइनेछ।

रुपन्देही-१ : विष्णु पौडेल र केशवबहादुर थापा मगर
त्यस्तै २०६२/२०६३ को परिवर्तनपछि रुपन्देहीबाट निरन्तर संविधानसभा र प्रतिनिधिसभामा निर्वाचित भएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई यस पटक कतिपयले ‘भाग्यमानी’ उम्मेदवार भनिरहेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ सहित तीन जनाको उम्मेदवारी निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै खारेज गरेको छ । आयोगको उक्त निर्णयपछि पौडेलबाहेक स्वतन्त्र र साना दलका एक दर्जन जति उम्मेदवार उक्त क्षेत्रमा प्रतिस्पर्धामा छन् ।
बुटवलस्थित उनी बसिरहेको घरमा साँझ अबेरसम्म पनि कार्यकर्ता र शुभेच्छुकको चहलपहल देखिन्छ। किन देशभित्रै रहेर पनि धेरै मानिसहरू मतदान गर्नबाट वञ्चित छन् ।

तीन महिनादेखि चुनावमा केन्द्रित रहेका पौडेलले संसदीय निर्वाचनमा जीत र हार दुवैको अनुभव आफूसँग रहेको भन्दै मतदाताबाट निरन्तर साथ पाउने अपेक्षा राखेको बताए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पाबाट पहिलो पटक संसदमा निर्वाचित भएका उनी २०५६ सालको चुनावमा पराजित भएका थिए । दोस्रो संविधानसभा चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका पौडेल वाम गठबन्धनले चुनावमा लगभग दुई तिहाइ हासिल गरेसँगै नेकपा गठन हुँदा दलको महासचिव बनेका थिए ।

तर पछिल्लो एमाले महाधिवेशनबाट उपाध्यक्ष बनेका उनी सहितका यो क्षेत्रका एमाले उम्मेदवारहरूले तत्कालीन नेकपाको सरकारसँग जोडिएका अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गर्नु परिरहेको छ। पौडेललाई पराजित गर्नका लागि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गरेको छ।

रुपन्देही-१ : घनश्याम भुसाल र छविलाल विश्वकर्
नेकपा एमाले अध्यक्ष केपी ओलीका चर्को आलोचक रहेकै कारण टिकट नपाएका एमालेका पूर्व नेता घनश्याम भुसाल नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मासँग चुनावी मैदानमा भिडेका छन्।

अघिल्लो संसदीय चुनावमा रुपन्देही क्षेत्र नम्बर १ मा कांग्रेसका प्रतिद्वन्द्वीलाई करिब आठ हजार मतले हराएका विश्वकर्माविरुद्र्ध भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको पनि समर्थन पाएका विश्वकर्माले यस पटक सत्तारुढ पाँच दलीय गठबन्धनले समर्थन जनाएका भुसालको सामना गरिरहेका छन् ।

यसअघिको चुनावमा भुसालले रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेसले समर्थन गरेका राप्रपा उम्मेदवार बोहरालाई पराजित गरेका थिए । अहिले आफ्नो निवास समेत रहेको क्षेत्रमा चुनाव लडिरहेको भन्दै त्यसका कारण चुनावी सफलता मिल्नेमा उनी आशावादी देखिन्छन् । एउटै पार्टीका पूर्व नेताहरूको भिडन्त यो प्रदेशका अन्य जिल्लाहरूमा पनि छ ।

गुल्मी- २ : गोकर्णराज विष्ट र रामकुमारी झाँक्री
गुल्मी क्षेत्र नम्बर २ मा एमाले नेता गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री चुनावी मैदानमा छन् ।
यसअघिका निर्वाचनमा विष्टलाई जिताउन लागिपरेकी झाँक्री अहिले प्रतिस्पर्धी छिन् । उनलाई सत्ता गठबन्धन दलको समर्थन छ ।

पूर्वसहकर्मी विष्टलाई उछिनेर निर्वाचन जित्ने तरखरमा उनी छिन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६, २०७० र २०७४ सालमा चुनाव जितेका विष्ट मन्त्री भइसकेका छन् । पहिला एउटै पार्टीमा बसेर काम गरेका उनीहरू अहिले फरकफरक कित्तामा उभिएका छन् । यसअघिका निर्वाचनमा विष्टलाई दिलोज्यानले जिताउन हिँडेकी झाँक्री अहिले आफैं जित्न लागिपरेकी छन् ।

दाङ- १ : शान्ता चौधरी, मेटमणि चौधरी र गङ्गा चौधरी
विगतमा एउटै दल एमालेमा रहेका शान्ता चौधरी, मेटमणि चौधरी र गङ्गा चौधरी सत्गौवा दाङ क्षेत्र नम्बर १ मा उम्मेदवार छन्।
गठबन्धबाट नेकपा एकिकृत समाजबादीका मेटमणी भौधरी नेकपा एमाले शान्ता चौधरी र हाम्रो नेपाली पाटीबाट उम्मेदवार बनेकी गंगा चौधरी बीच प्रतिस्पर्धा हुने भएको छ ।

उनीहरु तीनै जना यस अघि एमालेमा रहेर सक्रिय राजनिति रेका हुन् । मेटमणी चौधरी एमाले विभाजन भएपछि एकिकृत समाजवादीमा गएका हुन् । भने एमालेबाट टिकट नपाएपछि नेतृ गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् । शान्ता चौधरी एमालेबाट चुनावी प्रतिस्पर्धामा छिन् ।

पाल्पा-२ : ठाकुर गैरे र सोमप्रसाद पाण्डे
पाल्पा- २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डे र नेकपा (एमाले) बाट ठाकुर गैरे चुनावी प्रतिस्पर्धामा छन्। विगतमा एउटै पार्टी एमालेमा हुँदा पाण्डेले पटक(पटक अवसर पाए भने गैरेले एक पटक पनि संसदीय चुनावमा टिकट पाएका थिएनन्।

पाण्डे २०५१, २०५६, २०६४, २०७० र २०७४ मा त्यसै क्षेत्रबाट उम्मेदवार बनेका हुन् । उनी २०६४ को पहिलो संविधान सभा चुनावबाहेक अरू सबै चुनावमा विजयी भएका थिए। गैरेसँगै दोस्रो जनआन्दोनलबाट उदाएका समकालीनहरू मन्त्री भइसक्दा पनि पाण्डेकै प्रभावका कारण पाल्पा(२ बाट उनले सांसद बन्ने अवसर पाउन सकेनन् ।

गुल्मी-१ : चन्द्र भण्डारी र प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नम्बर १ मा भइरहेको कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धाप्रति पनि धेरैको चासो पाइन्छ । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन्। उनीहरु गुल्मी– १ मा प्रतिस्पर्धा गर्दैछन्।

२०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन्। आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन्। यद्यपि, ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ ।

आसन्न निर्वाचनको परिदृश्यबारे चर्चा गर्दा ज्ञवाली र भण्डारीले स्थानीय राजनीतिदेखि केन्द्रको राजनीतिसम्म खेलेको भूमिका र वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई विश्लेषण गर्नु आवश्यक हुन्छ। यसअघि तीन पटक यी दुई नेता चुनावमा आमुन्नेसामुन्ने हुँदा दुई पटक ज्ञवालीले जितेका थिए। पछिल्लो संसदीय चुनावमा ज्ञवालीले साढे ७ हजार मत अन्तरले भण्डारीलाई पराजित गरेका थिए।

अर्घाखाँची : टोपबहादुर रायमाझी र पुष्पा भुसाल
नेकपा विघटनपछि नेकपा एमालेमै रहेका पूर्व मन्त्री तथा पूर्व माओवादी नेता टोपबहादुर रायमाझी र प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख पुष्पा भुसालबीच अर्घाखाँचीमा प्रतिस्पर्धा भइरहेको छ ।

त्यहाँ दुई वटा संविधानसभा निर्वाचन र पछिल्लो संसदीय चुनावमा माओवादी केन्द्रका रायमाझी विजयी भएका थिए।
एमालेका सचिव रहेका रायमाझीले अघिल्लो निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीभन्दा १८ हजार भन्दा बढी मत ल्याएका थिए। हाल रायमाझीलाई चुनौती दिइरहेकी भुसाल अर्घाखाँची क्षेत्र नम्बर २ बाट पहिलो संविधानसभा चुनावमा विजयी भएकी थिइन्।
अघिल्लो संसदमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी उनी कांग्रेसको सचेतक र पछि प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्।

दाङ -२ : शंकर पोखरेल र रेखा शर्मा
यस पटक दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रकी रेखा शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । विगतमा दाङ हाल चुनावी प्रतिस्पर्धामा नरहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको पकड रहेको जिल्ला मानिन्छ । यसपटक सत्ता गठबन्धन शर्माको पक्षमा उभिएको छ ।

पहिलो संविधानसभा चुनावमा दाङका पाँच वटै क्षेत्रमा तत्कालीन नेकपा माओवादीले जितेको थियो । दोस्रो संविधानसभामा आइपुग्दा सबै सिट कांग्रेसको पोल्टामा पुगे पनि पछिल्लो संसदीय चुनावमा दाङका दुई क्षेत्र एमालेले र एउटा माओवादी केन्द्रले जितेका थिए।

नवलपरासी- ४ : विनोद चौधरी र हृदयेश त्रिपाठी
नवलपरासीबाट चार पटक संसदीय निर्वाचन जितेका जनता प्रगतिशील पार्टी नेपालका नेता हृदयेश त्रिपाठी र नेपालका एक मात्र डलर अरबपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन्।

त्रिपाठीसँग भिडेर उक्त क्षेत्रमा सक्रियताका साथ अभियान चलाइरहेका चौधरी पहिलो पटक प्रत्यक्ष चुनाव लडेर निर्वाचित हुने कोसिसमा छन् । यसअघि उनलाई नेकपा एमालेले पहिलो संविधानसभामा पुर्याएको थियो ।

पछिल्लो संसदीय चुनावमा उनी समानुपातिक प्रणाली अन्तर्गत नेपाली कांग्रेसबाट संसद् बनेका थिए । अघिल्लो चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर लडेका त्रिपाठीले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा पाँच हजार मत बढी ल्याएका थिए ।

चुनावी प्रचारमा मोटरसाइकल चढेर आफूलाई अरू उम्मेदवार भन्दा अझै सामान्य व्यक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको देखिएका चौधरी र संसदीय राजनीतिका पुराना खेलाडी त्रिपाठीबीचको प्रतिस्पर्धा रोचक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्