काठमाडौं । झापाको २ नम्बर निर्वाचन क्षेत्रमा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो ।

एकातर्फ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको ३ दलीय लोकतान्त्रिक वाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ ।
राजनीतिक पृष्ठभूमिका २ वटा गठबन्धन दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बागी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि पहिलो पटक झापा–२ मा आफ्नो उम्मेदवार खडा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पनि अबको पालो युवाको भन्दै जनताको मत बटुल्न घरदैलोमा छ । यी पार्टीसँगै अन्य दलका उम्मेदवार पनि आफ्नो चुनावी दौडमा व्यस्त छन् ।
विशेषतः यो क्षेत्रमा प्रत्यक्षतर्फ ३ दलीय लोकतान्त्रिक वाम गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि दुवै उम्मेदवारलाई जीत निकाल्न त्यति सहज देखिँदैन । दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
अन्य दलको प्रत्यक्षमा जीत निकाल्ने अवस्था देखिँदैन । तथापि समानुपातिक मत बटुल्न र आफ्नो उपस्थिति जनाउन चुनावी मैदानमा छन् । हाल मूलधारको राजनीतिमा रहेका दलहरूप्रति जनताको वितृष्णा बढेको भन्दै आफ्नो दल र उम्मेदवारले जनमत पाउने अन्य दलको ठहर छ ।
अर्जुनधारा नगरपालिका पूर्व नगर प्रमुख हरिकुमार राना लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार छन् भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे छन् । राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बनेका हुन् । एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्रप्रसाद गिरी, नेमकिपाबाट महेन्द्र खायमली, स्वतन्त्रमा अधिवक्ता भद्रप्रसाद नेपाल र कांग्रेसबाट बागी कुमार भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विकास र जनतासँग जोडिएका मौलिकतामा आधारित अवधारणासहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उम्मेदवार राना बताउँछन् । जनताको हरेक समस्यासँग आफू जानकार भएको र स्थानीयको सुखदुःखमा हातेमालो गरेकाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने रानाको दाबी छ ।
‘अर्जुनधारा नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी पूरा गरिरहँदा मैले विकास र जनतासँग जोडिएका कुरा जाने–बुझेको छु,’ उनले भने, ‘लामो समय स्थानीय तहमा बसेकाले स्थानीय समृद्धिको आधार मैले बुझेको छु, स्थानीय आवश्यकता र समस्या मलाई थाहा छ, जनताले मलाई रोज्नुहुन्छ ।’