Logo
Logo

५० वर्षपछि रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पूर्जा वितरण


630
Shares

काठमाडौं । तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयहरुले विक्री गरेको जग्गामा बसोबास गर्दै आएका पाल्पाको रामपुरका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । २०२८/०२९ साल देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोगले जग्गा धनी प्रमाण पूर्जा प्रदान गरेको हो । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरी मध्ये पहिलो चरणमा १ सय ३ जनालाई पूर्जा वितरण गरिएको हो ।

लामो समय देखि पूर्जाको प्रतिक्षामा रहेका अव्यवस्थित बसोबासीहरुलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा कार्यक्रम गरी पूर्जा वितरण गरेको थियो । पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले आयोग संविधान र लोकतन्त्रको मर्म अनुसार पादरर्शी ढंगले अघि बढेको बताए ।

भूमिको समस्या समाधान आयोग र स्थानिय सरकार मिलेर मात्र सम्भव रहेको बताउँदै आयोगले आफ्नो भुमिका नखोजी स्थानीय सरकारहरु संगै हातेमालो गरेर अघिबढेको जानकारी गराए ।

निरौलाले भने, ‘आयोग समस्याका समाधानका बुँदाहरु पहिल्याउँछ । समाधानको प्रयत्नमा रहन्छ । यो देश मेरो भनेर गर्व गरिरहनु हुन्थ्यो तर आफैले टेकेको जमिन तपाईको थिएन । भुगोल पनि हो जमिन पनि हो । तर आफुले टेकेको जमिन आफ्नो थिएन ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रमा घर्तीले भूमि आयोगले पाल्पा जिल्लामा मात्र नभई प्रदेश भरी नै प्रभावकारी ढंग बाट आफ्नो कामलाई अघि बढाएको बताए । साथै उनले प्राप्त गरेका उपलब्धीहरुलाई रक्षा गर्दै आगामी दिनमा अघि बढ्न आग्रह गरे ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले लामो समयको प्रयासले आज सार्थकता पाएको बताए । विगतमा गठन भएका आयोगहरुले जिल्लामा रामपुरबाटै आफ्नो काम थालनि गर्दै आएको र अहिलेको आयोगले पनि रामपुरबाटै थालनि गरेकोमा धन्यवाद दिदै प्रदेश सरकारको तर्फ सार्वजनिक जग्गाको संरक्षण तथा जग्गाको व्यवस्थापनमा पूर्ण साथ दिने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले लालपूर्जा प्राप्ति बाट सफलता हासिल गर्न शुभकामना दिए । सबैको सहभागीता र समन्वय बाट पूर्जा हासिल सम्भव भएको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आजको दिन ऐतिहासिक भएको बताउँदै विगतका आयोगको योगदान र अहिलेको प्रयास बाट सम्भव भएको बताए । नगरपालिका आयोगलाई साथ दिन तयार रहेको बताउँदै सार्वजनिक संरक्षणमा तप्पर भएर लागेको बताए ।

राष्ट्रिय भूमि आयोगका केन्द्रिय सदस्य आयोगले विभिन्न स्थानमा पूर्जा वितरण गरिरहेको बताउँदै सुकुम्बासी, दलित, भूमिहिनहरुको लागि पनि आवश्यक पहल भैरहेको जानकारी दिए । आयोगको गठन आदेश पहिलेको तुलनामा प्रगतिशिल रहेको बताए ।

भूमि समस्या समाधान आयोगका तत्कालिन केन्द्रिय सदस्य लेखनाथ पोखरेलले विगतमा पनि समस्या समाधानको लागि प्रयास थालेको बताए । राजनैतिक अन्तर विरोधका कारण काम अघि बढाउन समस्या रहेकोमा अहिले तिव्रगतिमा काम भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनार, जनता समाजवादी पार्टीका नविन सुनुवार, नेकपा एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले सबैको साथ र मेहेनतले सार्थकता पाएको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो चरणमा ३ सय ७७ वटाको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि ३ सय १ वटाको सर्जिमिन भएको बताए । उनले सर्जिमिन भएका मध्ये २ सय बढीले राजस्व बुझाएको, १ सय ७३ को फोटो टाँस्ने काम सकिएको र १ सय ३ वटा वितरण गरिएको जानकारी दिए । उनले प्रक्रिया पुरा भएका सबैको क्रमश वितरण हुने बताए । साथै गैरेले गठबन्धनको सरकार यथावत रहेमा ८ महिना भित्र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहजकर्ता देवेन्द्र पोखरेल र चिरञ्जीवि सिग्देलले आफ्ना धारणा राख्नु भएको थियो । पूर्जा वितरण कार्य २०५६ सालमा विभिन्न संघ संस्थाको नाममा हुँदै आएको जग्गा विक्री रोक्का गरी अभिलेखिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका तत्कालिन रामपुर गाविसका अध्यक्ष एवं रामपुर ७ का निवर्तमान वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीलाई प्रदान गरी सुरु गरिएको थियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारी ,राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका सदस्य सचिव एवं नापी कार्यालय पाल्पाका प्रमुख अर्जुन पौडेलले गर्नु भएको हो । वषौं देखि लालपूर्जा विहिन बनेका स्थानियहरु पूर्जा वितरण संगै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्