Logo
Logo

सात दलीय गठबन्धनको बैठक सुरु


1.1k
Shares

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि बसेको पहिलो बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका अध्यक्षसहित नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत सहभागी छन् ।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न ४ बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम अगावै केही मन्त्रीको टुङ्गो लगाउने तयारीका लागि सरकारमा सहभागी दलको बैठक सुरु भएको हो ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा दलहरुको आन्तरिक तयारी लगत्तै सामूहिक छलफल सुरु भएको हो । आज बिहान मात्रै माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । बैठकले पार्टीका उपध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

उता एमाले अध्यक्ष ओलीको निवास बालकोटमा पनि नेताहरुबीच छलफल भएको थियो । एमाले बैठकले उपाध्यक्ष विष्णे पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आन्तरिक छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्