Logo
Logo

प्रहरी छानबिनमा क्रिकेट संघका पदाधिकारी


2k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का अधिकारीहरु प्रहरी छानबिनमा तानिएका छन् । म्याच फिक्सिङ र सट्टेबाजीमा मिलेमतोको आशंकामा प्रहरीले क्यानका पदाधिकारी, केही खेलाडी र आयोजक कम्प्नीका कर्मचारी लगायतमाथि निगरानी बढाएको छ ।

क्यानको आयोजनामा हालै काठमाडौंमा भइरहेको नेपाल टि–२० लिगमा म्याच फिक्सिङको सम्भावना देखिएको हो । भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टस् कम्पनीको व्यवस्थापनमा यो लिग भइरहेको छ ।

एकातर्फ सो कम्पनी नै विवादास्पद छ भने, अर्काेतर्फ कम्पनीसँग क्यानले बिना प्रतिस्पर्धा मिलेमतोको आधारमा सम्झौता गरेको थियो । सेभेन थ्रि स्पोर्टस् कम्पनी भारमा बेटिङकै कारण विवादमा मुछिएको कम्पनी हो । उसलार्ई प्रतिस्पर्धा बिना नै लिग सञ्चालन गर्न दिइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायले छानबिन गरिरहेको छ ।

अझ अचम्म के छ भने, यो प्रतियोगिताको प्रमुख प्रायोजक नै बेटिङ कम्पनी छ । वानएक्सबेट नामक कम्पनी लिगको प्रमुख प्रायोजक रहेको छ । नेपालमा बेटिङ प्रतिबन्धित छ । तर, खुलेआम प्रायोजक मात्र राखिएको छैन लाइभ प्रसारणमा बेटिङका लागि विज्ञापन समेत गरिएको छ । फ्यानकोडमार्फत भइरहेको प्रसारणमा मोबाइल नम्बर दिएरै बेटिङको बिज्ञापन हुने गरेको छ । यो खेललाई वाएक्सबेट, बेटिङ ३६५ लगायत कम्पनी कम्पनीले बेटिङमा राखेका छन् ।

पटक–पटक सरेर सुरु भएको यो लिगमा केही विदेशी खेलाडी समेत आएका छन् । तर, कम्पनीले प्रायोजक जुटाउन नसकेपछि लिग यसपटक पनि अन्योलमा परेको थियो । क्यानका पदाधिकारीको इज्जत जोगाउन पछि लिग अघि बढाइएको छ । जसकारण पैसा उठाउनका लागि अवैध धन्दा गर्न थालिएको छ ।

लिगमा खुलेआम सट्टेबाजी चलिरहँदा पनि क्यानका पदाधिकारी मौन भएकाले उनीहरुको मिलेमतोको सम्भवना देखिएको हो । अनलाइनमार्फत बेटिङको निष्फिक्रि कारोबार भइरहेको छ । सट्टेबाजीसँगै सम्बन्धित व्यक्तिले लिग आयोजना गरेकाले म्याच फिक्सिङको समेत जोखिम हेरेर अनुसन्धान थालिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्