Logo
Logo
टिप्पणी

प्रचण्डसँग ‘प्रचण्ड अपेक्षा’


1.9k
Shares

काठमाडौं । दुई वर्षअघि पुस महिनामा पानी बाराबार थियो । तत्कालीन नेकपा हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुटेका थिए ।

तर, ९ पुस २०७९ मा राजनीतिक घटनाक्रम अचानक फेरियो । पानी बाराबारको अवस्था तोडियो– ओली–प्रचण्ड एक ठाउँ भए । र, ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ।

पछिल्लो राजनीतिक घटनाक्रमले दुनियाँको मथिङ्गल हल्लाएको छ । घटना अनपेक्षित थियो, परिणाम अपेक्षा गरिएको भन्दा फरक रह्यो । यो घटनाले कांग्रेसजन मर्माहत भएका छन्, एमालेमा खुशीयाली छाएको छ । मुख्य त, राजनीतिमा जे पनि सम्भव छ भन्ने पुनः पुष्टि भएको छ ।

माओवादी ३२ सिट प्राप्त गर्दै तेस्रो वरियताको पार्टी हो । पहिलो दल नेपाली कांगेससँग ८९ र दोस्रो दल एमालेसँग ७८ सिट छ । निर्वाचनअघि गठबन्धन गरिएको भएपनि यो परिणाम अनपेक्षित थिएन । तर, माओवादी र एकीकृत समाजवादी सन्तुष्ट थिएनन् । तथापि, गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरामा दुईमत थिएन ।

जनमतको आधारमा सरकारको नेतृत्व निर्वाचनअघि बनेको गठबन्धनले नै गर्नुपर्ने थियो । तर, ठूलो बन्नुको आधार भुल्दै कांग्रेसमा दम्भ र घमण्ड बढेसँगै पाइसकेको सबथोक गुमायो ।

प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउन कांग्रेस अर्थात सभापति शेरबहादुर देउवाले वचन दिएपनि अन्तिममा धोका दिएको कुरा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पुष्टि गरे । यसैको परिणाम हो– कांग्रेसले सत्ताको सबथोक गुउमानुपर्ने परिस्थिति ।

जस्तो अवस्थामा प्रधानमन्त्री भएपनि विगतका कमजोरी करेक्सन गर्दै प्रचण्डले तेस्रो कार्यकाल देश र जनताको पक्षमा समर्पण गरुन भन्ने शुभेच्छुकको कामना हो । तेश्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा प्रचण्डले वुद्धिमत्तापूर्वक जनता र देशका लागि केही काम गर्न सकून मन्ने अपेक्षा रहेको छ ।

सरकारले केही विषयहरूलाई प्रथमिकतामा राखेर कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । तीमध्ये व्याप्त अनियमितता र भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति तथा सदाचार प्रमुख विषय बन्नु पर्दछ ।

भ्रष्टाचार र अनियमितताको सार्वजनिक कार्यक्रमहरूमार्फत भण्डाफोर गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष स्वयं नै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी दिएका छन् ।

नेपाली जनताले मात्र होइन विश्वले नेपाली राजनीतिज्ञहरुको भनाइ र गराइ तुलना गर्ने यो एक अन्तिम अवसर हो । हेरौं, देशभर घण्टी बजाएर उदय भएको केही महिनामा सत्ताको बागडोर सम्हाल्न पुगेका रवि लामिछानेहरुको पनि परीक्षाको घडीमा छन् ।

दोश्रो, ओरालो लागेको अर्थतन्त्रमा सुधार प्रमुख चूनौती हो । करिव दुई वर्षदेखि नेपालको अर्थतन्त्र ओरालो लागेको छ । केही समय त श्रीलंका हुन लाग्यो भन्ने समेत हल्ला चल्यो । त्यससैले ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काएर लगानी, उत्पादन तथा उत्पादकत्व वृद्धिको साथै हाम्रो श्रम शक्ति प्रयोग गर्दै बेरोजगारी समस्या हल गर्ने हो ।

अनुभवी र सत्ताका खेलाडी विष्णु पौडेल उपप्रधानमन्त्रीसहति अर्थमन्त्री बनेका छन् । उनलाई पनि काम गरेर देखाउने मौका छ । अप्ठ्यारो समयमा आएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न विष्णु कति सफल हुन्छन् त्यो हेर्न बाँकी छ ।

तेश्रो, पूर्वाधार निर्माण तथा विकास मुख्य क्षेत्र हो । यो भ्रष्टाचार र अनियमितताको केन्द्रविन्दु पनि हो । यसको जिम्मा माओवादीका वरिष्ठ उपाध्याक्ष तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् । उनले काम देखिने मन्त्रालय पाएका छन् । तर, काम कस्तो गर्लान् हेर्न बाँकी छ । चाहने हो भने काम गरेर देखाउने अवसर छ । र, त्यो देशका लागि फाइदाको कुरा हुनेछ ।

०००

लगानीमैत्री वातावरण बनाई उद्योग, व्यापार, पेशा व्यवसाय, ऊर्जा तथा पर्यटन विकास जरुरी छ । संघीयता कार्यान्वयनमा तीनै तहबीच समन्वय र सहकार्य जरुरी छ । तीनै तहका सरकार एकले अर्कोलाई नटेर्ने र अस्तित्व स्वीकार नगर्ने समस्या आएको छ । सरकारले यो समस्या समाधान गर्नुपर्छ ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएको दुई दशक पुग्न लाग्यो । संविधान कार्यान्वयनको दोश्रो कार्यकाल नेतृत्व गर्ने अवस्थामा प्रचण्ड नेतृत्वमा आएका छन् । शान्ति प्रकृयाका कतिपय काम अझै बाँकी छन् । विशेष प्राथमिकताका साथ प्रचण्डले यी विषयहरु टुंगो लगाउनुपर्छ ।

शिक्षा, स्वास्थ्य र रोजगार जस्ता महत्वपूर्ण समस्याहरु जस्ताको त्यस्तै छ । रोजगार समस्याका कारण युवा पुस्ता भड्कन लागेको परिस्थितिलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ । पछिल्ला दुई निर्वाचनबाट यो छनक आइसकेको छ ।

०००

प्रचण्ड सरकार सहज अवस्थामा बनेको छैन । राजनीतिक दलबीच धोका र छलछामको राजनीतिले निरन्ता पाएको टिप्पणी हुने गरेको छ । यसपटक प्रचण्डले उच्च नैतिकता प्रकट गरेर यो आरोप चिर्नुपर्ने छ । विगतमा भएको धोका र बेइमानीहरुलाई मध्यनगर गर्दै काम गरेर राजनीतिमा सौहार्दता र सम्मानको वातावरण बनाउन आवश्यक छ । प्रचण्डबाट यो अपेक्षा गर्न सकिन्छ ।

मुख्य कुरा, प्रधानमन्त्री प्रचण्डले यसपटक जनतालाई ‘प्रचण्ड सरकार’को आभास गराउनुपर्छ । त्यसका लागि यहाँका मुख्य समस्याहरु पहिचान गरी समाधान गर्दै देशलाई विकासको राजमार्गमा दौँडार्याउनु आजको आवश्यकाता हो ।

प्रतिक्रिया दिनुहोस्