Logo
Logo

नयाँ सरकार गठनको प्रक्रिया थाल्न लुम्बिनी प्रदेश प्रमुखलाई एमालेको पत्र


2.4k
Shares

काठमाडौं । नेकपा एमालेले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र पठाएको छ ।

मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्तासँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा समेत बुझाएको एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको हो ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले प्रदेश प्रमुखका उपसचिव धर्मा अर्याललाई बुझाएको जानकारी पत्रमा मुख्यमन्त्री महरा नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेकोले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन आग्रह गरिएको छ ।

उक्त पत्र बुझ्दै उपसचिव अर्यालले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउने र प्रदेश प्रमुखको निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताइन् । संघमा सत्ता समीकरण फेरबदल भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रिय सरकार गठन गर्ने सहमति गरेका छन् । सोही अनुरुप बिहीबार साँझ एमालेले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्योसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि बिहीबार साँझ नै मुख्यमन्त्री महरालाई राजीनामा पत्र बुझाएका थिए ।
एमालेले समर्थन फिर्ता गरेपछि अब मुख्यमन्त्री महरासँग १८ जना मात्रै सांसद छन्। नयाँ सरकार गठनका लागि भने एमाले र नेपाली कांग्रेसको मात्र बहुमत पुग्ने देखिन्छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा एमालेका २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् । दुईवटा दलका बीचमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिले नेकपा एमालेले र त्यसपछि नेपाली कांग्रेसले गर्ने योजना छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन् ।यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४÷४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३÷३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा एकजना स्वतन्त्र गरी ८७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्