Logo
Logo

ओली प्रवृत्ति अर्थात् धोकाको राजनीति


9.6k
Shares

बिहानसम्म पनि प्रचण्डलाई ओली भन्दै थिए– ‘कमरेड, स्वर्ग गए पनि सँगै जाने, नर्क गए पनि सँगै जाने’ । तर, त्यसो भनेको १२ घण्टा पनि नबित्दै साँझ उनी देउवाको शरणमा पुगिसकेका थिए । किनभने, देउवाले उनलाई किस्तीमा राखेर सत्ताको साँचो बुझाउने प्रस्ताव गरे । सत्ताका लागि जे पनि गर्ने ओलीका लागि यो जस्तो सुनौलो अवसर के हुन सक्थ्यो र ?

तुरुन्तै उनी पल्टुराम भए र उनै प्रचण्डलाई राजीनामा दिएर आफ्ना लागि मार्गप्रशस्त गर्नसम्म भन्न भ्याए । फोनबाट हैन, बिहान बालुवाटार पुगेर प्रचण्डसँग आमनेसामने बसेरै भन्न भ्याए । त्यसो गर्न कसरी सकेको होला जबकि, तीन महिनाअघि मात्रै उनै प्रचण्डलाई अनेकौँ लोभ लालच देखाएर कांग्रेस क्याम्पबाट एमाले क्याम्पमा ल्याएका थिए ।

उताबाट यता ल्याए । अनि टेकेको भुईँ भासिए पछि छोडी दिए । यो स्तम्भकारले त पहिले भनेकै थियो, ‘प्रचण्डले ओलीलाई अझै चिनेका रहेनछन् । धोकाको डोज पुगेको रहेनछ । पहिलाभन्दा अझ उन्नतस्तरको धोका पाउनेछन् । नभन्दै अहिले त्यही भयो र प्रचण्ड आफैँ फत्तेमानको स्वरमा अर्धचेत भएर यो गीत गाइरहेका छन्–
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले

मेरो निरक्षर बुबा भन्नुहुन्थ्यो, ‘लबस्तराको ओखती हुँदैन।‘ उहाँ केपी ओलीलाई नेपालकै सबैभन्दा ठूलो लबस्तरो भन्नुहुन्थ्यो । र, यो देशमा ओली हुन्जेल कहिल्यै शान्ति हुँदैन भन्नु हुन्थ्यो । अझ, उहाँ त ओली जन्मँदै मुल्याहा भएर जन्मेको हो भन्नुहुन्थ्यो । बालकैमा आमा खायो भन्नुहुन्थ्यो । उनका छोराछोरी नभएकोमा पाप कराएको भन्नुहुन्थ्यो । मदन भण्डारीको हत्यारा ओली र विद्यालाई थाहा छ भन्नुहुन्थ्यो । ओलीको बोलीको बारेमा बोल्दा जिब्रोलाई ठेस लाग्ने हैन, यो जे पनि बोल्छ भन्नुहुन्थ्यो । अरू पनि धेरै भन्नुहुन्थ्यो ।

यो सबै भन्ने मेरो बुबा यो संसारमा हुनुहुन्न । तर, दुईवटा मिर्गौला फेरेका ओली अझै ज्यूँदै छन् र नानाभातिका चर्तिकला देखाइरहेका छन् । अहिले उनको चर्तिकलाको पछिल्लो शृङ्खलामा रातारात प्रचण्डलाई फत्तेमानको गीत गाउने बनाएर देउवासँग कुम जोड्न पुगेका छन् । संसदीय पद्धतिमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने भनेका छन् । योभन्दा ठूलो असंसदीय खेल के हुन्छ र? तैपनि ओली लाज पचाएर भनिरहेका छन्, ‘संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको सरकार ।’

ओलीको नेतृत्वमा राष्ट्रिय सहमति– योभन्दा ठूलो राष्ट्रिय जोक के हुन सक्छ र ? तैपनि यो देशमा पत्याउनेहरूको कमी छैन । ओलीका कुर्मानेहरूले त पत्याउने नै भए, नेपाली कांग्रेस पनि यो पत्याइरहेको छ । शेरबहादुर देउवाको त के कुरा भयो र कसैले ‘छैठौपटक प्रधानमन्त्री हुने र आरजुलाई पक्राउ नगर्ने’ भन्यो भने उनी जे गर्न पनि तयार हुन्छन् । रह्यो, गगन थापा र विश्वप्रकाश शर्माहरूको कुरा उनीहरू पनि पानीमरूवा भएर ओलीको खाइपैचो पत्याइरहेका छन् ।

कांग्रेस त वीपीको सपनाको कुरा गर्थ्यो । अझ, उनको सपना साकार पार्छौ भन्दै नारा पनि लगाउँथ्यो । विश्वप्रकाश र गगनले पनि अनेकपटक नारा लगाएकै हुन्, वीपी सपना – साकार पार्छौ, साकार पार्छौं । यो पंक्तिकार उनीहरू र उनीहरूमार्फत यो नारा घन्काउने कांग्रेसीजनलाई सोध्न चाहन्छ– कहिले प्रचण्डसँग सत्ताको रासलीला मच्चाएको छ, कहिले ओलीसँग । यसरी कम्युनिष्टहरूको ओछ्यान तताएर वीपीको सपना कसरी पूरा हुन्छ ?

आखिर यसो गरेर कांग्रेसले पाउँछ के ? शेरबहादुरका लागि उधारो प्रधानमन्त्री । केन्द्र र प्रदेशमा केही थान मन्त्रीहरू, केही थान मुख्य मन्त्री, राजदूत र अरू राजनीतिक नियुक्तिहरू । योभन्दा बढी केही पाउँछ ? केही पाउँदैन । त्योभन्दा बढी उसले पाउने हैन, गुमाउने मात्र हो । यसबाट कांग्रेसको ब्राण्ड खुइलिन्छ, कम्युनिष्टको ओछ्यान तताउँदा गुमाएको अस्मिताको शोधभर्ना गर्नुपर्छ । वीपी–गणेशमान–कृष्णप्रसादजस्ता त्यागी नेताहरूको कांग्रेस यस्तो भयो भनेर श्रापित हुनुपर्छ । कहिले प्रचण्डको लँगौटी बन्नुपर्छ, कहिले ओलीको कट्टु । भन्दा अप्रिय लाग्ला, यति मात्र भएर पुग्दैन, अरू पनि धेरै हुनुपर्छ ।

जे होस्, नेपाल फेरि एकपटक ओलीको घुमाइमा परेको छ । उनले यस बीचमा कांग्रेस– प्रचण्डको पुरानो गठबन्धन मात्र सिद्ध्याएनन्, प्रचण्डलाई रछ्यानमा पुर्याइदिए । उपेन्द्र यादवको जनता समाजवादी पार्टी टुक्राइदिए ।

माधव नेपालको नेकपा एसमा केही थान मन्त्री र एकथान मुख्यमन्त्रीको घाँस हालेर सिध्याइदिए । नयाँ भनिएको रास्वपा र उनका चतुर सभापति रवि लामिछानेलाई त यति पत्रु बनाएर छोडे कि एक किसिमले घरको न घाटको अवस्थामै पु¥याइ दिए । अब उनी ‘भाइ–ओमाले’ ब्राण्डको प्रयोग गरिएको स्खलित कण्डम नै हुन् भन्दा पनि हुन्छ ।

जे होस्, कुनै नाटकीय परिवर्तन भएन भने असार २९ गते केपी ओली नेपालको प्रधानमन्त्री हुनेछन् । त्यसो भयो भने यो ‘माछो माछो भ्यागुतो’ खेलमा ओलीको हातमा माछो हुनेछ । ओली २०७९ को निर्वाचन सम्पन्न भएसँगै यो खेल खेलिरहेका थिए । प्रचण्ड र देउवाको कमजोर कडी थाहा पाएका यी चतुरेले अन्ततः प्रचण्डलाई भ्यागुतो समाउन बाध्य पारेर माछा आफ्नो हातमा पारेका हुन् ।

यो माछो कति दिन उनको हातमा अडिन्छ?, त्यो स्वयं ओलीलाई पनि थाहा छैन । यदि उनले भनेजस्तै भयो र उनी आफ्नो बोलीमा इमानदार भए भने बढीमा अर्को डेढ वर्ष यो माछो उनको हातमा हुनेछ । त्यसपछि त्यो माछो देउवाको हातमा पुग्नेछ ।

तर, प्रश्न उठ्छ ? ओलीले हातमा पारिसकेको त्यो सत्ताको माछो देउवालाई देलान् ? यो संसद्को सुरुवाती चरणमा सरकार बनाउने बेलामा पनि ओलीले देउवालाई बालुवाटारमा तीन बजेको समय दिएर धोका दिइसकेका हुन् । अब पनि धोका नदेलान् भन्ने के आधार छ र ? आखिर ओलीले दिने भनेको धोका मात्रै हो । देउवा, प्रचण्डलाई धोकाको बढी अनुभव होला ।

ओलीबाट धोका नपाउने नेपालमा को छ र ? तैपनि नौ दिनमा नौलो र बीस दिनमा बिर्स्यो हुने नेपाली समाज र देउवा र प्रचण्डजस्ता हुस्सु नेताहरू ओलीबाट धोका खान जन्मिएका हुन् कि जस्तो लाग्छ ।

प्रचण्डपछि अब पालो देउवाको हो । पहिलो चरणमा प्रधानमन्त्री नै बुझाएपछि फेरि पनि देउवा हुने भनेको उधारो प्रधानमन्त्री नै हो । के ओलीले २०७८ मा बालुवाटारबाट बालकोट पठाउने देउवाको ‘गुन’ बिर्सेका होलान् ? यदि देउवा र कांग्रेसजनलाई त्यस्तो लाग्छ भने त्यो एक किसिमको मनचिन्ते लड्डु मात्र हुने छ ।

केही कांग्रेसजनलाई लागेको होला, कांग्रेस सबैभन्दा ठूलो पार्टी छ– ओलीले तलमाथि गर्ने बित्तिकै समर्थन फिर्ता लिने र संसद्को सबैभन्दा ठूलो दलको हैसियतले देउवा प्रधानमन्त्री हुने । यो पनि सम्झिने पानी छम्कने नै हो ।

ओली प्रधानमन्त्री हुने बित्तिकै उनले गर्ने भनेको एमालेलाई सबैभन्दा ठूलो दल बनाउने हो । त्यसका लागि उनलाई १० सांसद मात्र चाहिन्छ । त्यो उनले व्यवस्था गरिसकेका छन् । अशोक राई पार्टीका सात सांसद, नेकपा एसका पाँच सांसद एमालेमा जान खुट्टा उचालेर बसेका छन् । कुनै पनि बेला उनीहरूलाई एमालेमा हुलेर ओली संसद्को सबैभन्दा ठूलो बन्छन् । त्यसपछि कांग्रेसको सबैभन्दा ठूलो दलको हैसियत र ओलीलाई दबाब दिने कार्ड पनि पूरै भुत्ते हुन्छ ।

त्यसपछि ओलीका लागि ताक परूज्नेल सरकार नत्र भने मध्यावधि चुनाव– एक किसिमले भन्दा दुवै हातमा लड्डु देखिन्छ । ओलीको रोडम्याप नै मध्यावधि चुनाव हो । उनी देशलाई यो म्यापमा आफूले दुई दुईपटक सिफारिस गरेर असंवैधानिक ठहरिएको मध्यावधिको औचित्य पुष्टि गर्न चाहन्छन् ।

ओलीले ठेल्दै ठेल्दै देशलाई त्यही ढिस्कोमा पुर्याएका छन् । कहीँ समयअघि सम्पन्न उपनिर्वाचनमा दुवै स्थान जितेर ओलीलाई एमालेको पक्षमा जनमत रहेको विश्वास पलाएको छ । यसबीचमा सबै दलभित्र एकसरो खेलेर अरूलाई आन्तरिक रूपमा कमजोर बनाउन पनि ओली सफल भैसकेका छन् ।

नेपालका लागि ठूलो दलको शीर्ष नेतृत्व नै अभिशाप हो । पुराना दलका तीन शीर्ष नेता ओली, देउवा र प्रचण्ड बाँचुन्जेल न उनीहरूले पद छोड्छन् न नेपालको भलो नै हुन्छ । नयाँ दलका चटके सभापतिको हैकम पनि ओलीभन्दा कम छैन । भर्खरै मुखमा पट्टि बाँधेका महामन्त्रीको अवस्था देखेपछि बाँकी धेरैलाई रविको थप चरित्र अवगत भयो होला । यो स्तम्भकारका लागि त रवि सुरुदेखि भाइ ओली नै हुन् ।

समग्रमा देश फेरि एकपटक अर्को अस्थिरताको घनचक्करमा प्रवेश गरेको छ । यो किन र कसरी भयो भन्ने बारेमा अनेकौँ अड्कलबाजीहरू छन् । सँगसँगै षडयन्त्रका सिद्धान्तका अनेकमुखे थैलीहरू पनि खोलिँदै छन् ।

राष्ट्रिय रूपमा संविधान संशोधनका लागि राष्ट्रिय सहमति भनिए पनि त्यो देखाउने दाँत मात्र हो । खासमा चुरो कुरो देशभित्र भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट र टीकापुर जग्गा प्रकरण नै हो । यसमा आरजु र ओली तानिने भएपछि यी दुईको रक्षाकवचका लागि यो तानाबाना बुनिएको हो । यसमा अरू जामा, पाइजामा लगाएर मिडिया ट्रायल भइरहन्छन् । तर, समयक्रममा ती सबै इलास्टिक– इजार जे जेले अड्याइएको छ, ती खुस्किने नै छन् ।

बिट मार्नुअघि, नैतिकताको कुरा गर्न मन लागेको छ । अहिले खासगरी नेपालमा प्रचण्डको नैतिकताको कुरा उठिरहेको छ । हो, प्रचण्ड नैतिकवान छैनन् तर ओली र देउवाभन्दा चाहिँ बढी नै नैतिकवान छन् । योगदानकै कुरा गर्दा पनि नेपाललाई गणतान्त्रिक र समावेशी बनाउन प्रचण्डको अहम् योगदान छ । ओलीले नेपालमा एमाले सक्छन्, देउवाले कांग्रेस ।

यी दुवै आ–आफ्नो पार्टीका भष्मासुर हुन् । दुःख त त्यसमा लाग्छ, पार्टीमा अनेक नाममा पदाधिकारीहरू ओली र देउवाका कुर्माने भएर कालो बनाइरहेका छन् । त्यो कालो कस कसको अनुहारमा धब्बा बनेर इतिहास बन्ने हो, समयले बहिखाता त राख्ला नै । आगे,त्यही समयको ऐनामा हेरौला ।

प्रतिक्रिया दिनुहोस्