Logo
Logo

योग्यतासँगै सीप विकास गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष


252
Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताएका छन् ।

केन्द्रविन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकालसम्म ठूलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए ।

उनले यस वर्षको एसइई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । “कुनै बेला पढ्न जाँदा दण्डित हुनुपर्ने देश यही हो, अहिले शिक्षा संविधानको मौलिक हकमा छ, यो जनआन्दोलन र राजनीतिक परिवर्तनको उपलब्धि हो । विद्यमान शिक्षा प्रणालीमा सुधारका धेरै ठाउँ छन्, सुधारका लागि हामी लाग्नु जरुरी छ”, अध्यक्ष दाहालले भने । उनले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाए ।

कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा डा श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरियो ।

यसैगरी, उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । अध्यक्ष दाहालका साथै नेकपा (एमाले) का सचिव योगेश भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले उत्कृष्ट शिक्षालय र शिक्षाकर्मीलाई सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ पनि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्