काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिनबारे छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।
पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।
सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याँकन गरी केन्द्रीय सदस्यको नामावली तयार भइसकेको बताइएको छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गरिने भएको छ । बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनीत गरिने जनाइएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ ।