काठमाडौं । महाधिवेशनबाट छान्नुपर्ने केन्द्रीय सदस्य पार्टी बैठकबाट छान्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा भाँडभैलो सुरु भएको छ । साउन १८ गते सार्वजनिक गरिएको ३४४ सदस्यीय केन्द्रीय कमिटीमा उनी आफैँ बहुमतमा त देखिन्छन्, तर उनलाई विद्रोहकलादेखि महाधिवेशनसम्म खुलेर साथ दिने थुप्रै नेता र कार्यकर्तालाई नसमेट्दा अध्यक्ष नेपाल कमजोर बनेका छन् ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न महाधिवेशनले पार्टी अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्वाचित गरी ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो । बाँकी केन्द्रीय सदस्य चयन गर्ने अधिकार सोही कमिटीलाई दिँदै महाधिवेशन सम्पन्न भएको थियो ।
तर, साउन १८ मा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिएका नामले पार्टीभित्र व्यापक असन्तुष्टि उत्पन्न गरेको छ । त्यसअघि १५ गते सम्पन्न बैठकले केन्द्रीय सदस्यको टुंगो लगाउनका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा तीन नेताका बीचमा केन्द्रीय सदस्य संख्याको भागबण्डा गरियो । १८ गते महासचिव भुसालले बैठकमा नामावली वाचन गरेर सुनाए । उक्त नामावलीमा नेताको चाकडी गर्नेहरू ९० प्रतिशत र नगर्नेहरू १० प्रतिशत छन् ।
त्यसअघि माधव नेपालको तर्फबाट लक्ष्मण केसी र मोहन गौतम, झलनाथ खनालको तर्फबाट कृपाराम धमला र घनश्याम भुसालको तर्फबाट तयार पारेको सूचीमा हेरफेर गरिएको थियो । महासचिव भुसालले सूचीमा को–को छन् भन्ने पढ्दै नपढी हस्ताक्षर गरेपछि उनीनिकट कार्यकर्ताहरू अन्यायमा परेका छन् ।
त्यसक्रममा जनसांस्कृतिक महासंघको अध्यक्षसमेत रहेका कृपारामले आफैँ तयार पारी झलनाथलाई बुझाएको ३५ जनाको सूचीबाट उनकै नाम काटिन पुग्यो । उक्त सूचीबाट काभ्रेका दीपक गौतम र बाँकेका दीपक जिएमको नाम पनि काटियो । ती नाममा अध्यक्ष नेपालले नै आपत्ति जनाएका थिए ।
स्रोतका अनुसार नेपालले आफ्नो तर्फबाट केन्द्रीय सदस्य बनाउनुपर्ने, तर बनाउन नसकिएका व्यक्तिमध्ये नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका तत्कालीन सदस्य कपिल गौतमको पक्षमा मात्रै अडान लिए । उनको तर्फबाट नामावली तयार पार्ने क्रममा मोहन गौतमले आफ्नै घरमा डेरा गरी बस्ने रुकुमका कपिलको नाम हालेका थिए ।
पार्टी र संगठन निर्माणमा अहोरात्र खटिएका नेताको नाम छुटाएर उनको नाम समावेश गर्ने कुरा बैठकले स्वीकार गरेन । त्यसपछि उनलाई एउटा निवेदन लेख्न लगाइयो र उक्त निवेदन बैठकमा अध्यक्ष नेपाल आफैँले वाचन गरे । यति हुँदा पनि उनको नाम पारित भएन ।
बेदुराम भुसालले आफ्ना पिए सुशील भट्टराईलाई केन्द्रीय सदस्य नबनाइए सार्वजनिक रुपमा असहमति राख्ने चेतावनी दिएपछि उनको पिएको नाम अनुमोदन भएको छ ।
नेताहरूले पैसावाल र आफन्तका पक्षमा मात्रै अडान लिने, जीवन नै पार्टीका निम्ति सुम्पिएका नेताहरूको हकमा केही नबोल्दा थुप्रैले पार्टी परित्यागको घोषणा नै गरेका छन् । मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नागेन्द्र राय यादवले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेलगत्तै पार्टी परित्यागको घोषणा गरे ।
सोमबार उनलाई च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी ओलीले स्वागत गरे । मनाङ र मुस्ताङ जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएपछि असन्तुष्टि चुलिएको छ । मुस्ताङका पार्टी अध्यक्ष भीम रसाइलीले नामावली सार्वजनिक हुनेबित्तिकै जिल्ला पार्टी कार्यालयमा ताला लगाए । नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका वसन्त बस्नेतले नामावली सार्वजनिक हुनेबित्तिकै पार्टीका सम्पूर्ण गतिविधिबाट अलग भएको घोषणा गरे ।
काठमाडौंबाट प्रदेशसभा सदस्य भइसकेका कुसुमकुमार कार्कीले पनि पार्टी कामबाट अलग भएको घोषणा गरेका छन् । केन्द्रीय सदस्य हुनेमा जनजाति महासंघ (समाजवादी) बाट सिफारिस भएका १७ जना, युवा, विद्यार्थी, किसान सङ्गठनबाट १० देखि १८ जनासम्म केन्द्रीय सदस्य हुँदा वकिल, पत्रकारसहितका पेसागत सङ्गठनबाट शून्य प्रायः रहन पुग्यो ।
त्यसक्रममा जनसांस्कृतिक महासंघका इन्चार्ज उदय श्रेष्ठ, प्रेस संगठनका सहइञ्चार्ज शम्भु श्रेष्ठ, अनेमसंघकी सहइञ्चार्ज सीता श्रेष्ठसहितका व्यक्ति केन्द्रीय सदस्यबाट हटाइए ।
पाँचथरबाट प्रदेशसभा सदस्यमा निर्वाचित तथा कोशी प्रदेशका निवर्तमान मन्त्री कमल जवेगु केन्द्रीय सदस्यमा अटाएनन् । दार्चुलामा ०७४ मा वडा सदस्य जितेकी रुक्मणि जागरीलाई ‘साहसी महिला’ का रुपमा चित्रित् गर्दै केन्द्रीय सदस्य बनाइयो ।
विभिन्न वामपन्थी घटकबाट एकता प्रक्रियामा सहभागी भएका नेतामध्ये शंकर पोखरेल (तनहुँ), आलोक रायमाझी, हिमालचन्द्र खरेलसहित थोरै नेतामात्रै समेटिए । झापाबाट नेकपा (माओवादी) बाट तीन सयभन्दा बढी कार्यकर्तासहित पार्टी एकता गर्ने बासु दुलाल केन्द्रीय सदस्यमा अटाएनन् ।
पार्टीका नेताहरूले केन्द्रीय सदस्यका निम्ति दुई हजारभन्दा बढीको दाबी पेश भएको र त्यसबाट ४५ वर्ष उमेर समूह र महिलाको संख्या पुर्याइनुपर्ने बाध्यताका कारण थुप्रैलाई समेट्न नसकिएको जवाफ दिने गरेको भए पनि एमालेबाट विद्रोह गरेर आएका इमानदार कार्यकर्तालाई हटाउँदा त्यसले नकारात्मक सन्देश दिएको छ ।
एमालेबाट विद्रोह गरी जन्मिएको पार्टी एकीकृत समाजवादीमा पदका लागि आएकाहरूले मोज गरेका छन् । मन्त्री भएका छन् । केहीले अकुत कमाएका छन् । तर, कुनै अवसर नपाएका इमानदार कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा पनि नअटाउँदा यो पार्टी निकट भविष्यमै ‘पाटी’ बन्ने चिन्ता एकीकृत समाजवादीको इमानदार कार्यकर्ताहरूको छ । एमालेमा जस्तै नेतृत्वको चाकडी गर्नेहरू यसपटक ९० प्रतीत मनोनितमा परेका छन् ।