काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीको मुद्दा उठाएर उदाएका व्यक्ति हुन् । २०७५ सालमा तत्कालीन कार्यवाहक मेयर मञ्जु भण्डारीले खानेपानीको महसुल वृद्धि गरेपछि शुल्क घटाउन नागरिक समाजको तर्फबाट हर्क साम्पाङले आन्दोलन गरेका थिए ।
आन्दोलनकै बेला २०७६ मा उपनिर्वाचनमा भयो । उक्त उपनिर्वाचनबाट खानेपानीकै मुद्दा उठाएका नेपाली काँग्रेसका तिलक राई मेयरमा निर्वाचित भए । तर उनले धराने जनतालाई खानेपानी खुवाउने प्रतिबद्धता पूरा गर्न सकेनन् । त्यसपछि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन अभियन्ता हर्क साम्पाङ पनि खानेपानीकै मुद्दा लिएर उठे ।
स्थानीय निर्वाचनको बेला उनले धराने जनतालाई निःशुल्क पानी खुवाउने वाचा गरेका थिए । उनको वचनलाई धराने जनताले पत्याए र धरानको मेयरमा जिताए । धरान उपमहानगरको मेयरमा निर्वाचन हुनेलगत्तै उनी पानीका मुहान खोज्दै हिँडे । जनतालाई पानीको तिर्खा मेटाउन उनी आफैँले ढुङ्गा र पाइप बोके । उनको यो अभियानमा जनता पनि जोडिए । स्वदेशमा हुनेले श्रमदान गरे भने विदेशमा हुनेले आर्थिक सहयोग गरे । उपमहानगरपालिकाको एक रुपैयाँ पनि खर्च नगरी करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाको पानी धरानमा ल्याउन सफल पनि भए ।
यसरी श्रमदानका साथै आर्थिक सहयोगबाट ल्याएको खानेपानीकोे महसुल र विभिन्न सेवा शुल्कको दर ह्वात्तै बढाइएपछि धरानमा आन्दोलन सुरु भयो । पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले साउन एक गतेबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको थियो । शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै चरणबद्ध आन्दोलन थाल्यो ।
शुल्क वृद्धिको निर्णय फिर्ताको मागसहित उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाध्यक्षहरूले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाए । दलहरूले ११ साउनमा पुरानै महसुल कायम गर्न भन्दै बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गर्याे ।
बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि १८ गते सबै वडामा ध्यानाकर्षण पत्र बुझाएका दलहरूले २० गतेबाट धर्ना सुरु गरे । उनीहरूले विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यालयमा धर्ना तथा तालाबन्दी गरेका थिए ।
तर, तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले गत बिहीबारदेखि धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए । तर, मेयर हर्क साम्पाङ भने एसियाली विकास बैंक एडिबीको ९७ करोड १९ लाख १० हजार ऋण तिर्नुपर्ने भएकाले खानेपानीको महसुल बढाएको नघट्ने दाबी गर्दै आएका छन् ।
दलहरू आन्दोलन झनै चर्काउँदै लगेपछि मेयर हर्क साम्पाङ खानेपानीको महसुल घटाउन बाध्य भएका छन् । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका १० राजनीतिक दल र नगरप्रमुख साम्पाङबीच आइतबार राति तीन बुँदे सहमति भएको छ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । योसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् ।
आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरू सहमति गर्न बाध्य भएका हुन् ।
यसले समन्वयमा मेयर सम्पाङ कति कमजोर छन् भन्ने कुराको पनि पुष्टि गरेको छ । व्यक्ति, संस्थादेखि संघ सरकारसम्म उनको समन्वय ट्र्याक नकारात्मक छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिमा गत आर्थिक वर्षको प्रारम्भिक नतिजामा धरानले समन्वयमा शून्य अंक पाएको थियो ।
समन्वय अभावकै कारण गत आर्थिक वर्षको बजेट समेत उनले निर्धारित समयमा ल्याउन सकेनन् । वडाध्यक्षहरूसँग समन्वय नगर्दा गत आर्थिक वर्षका महत्त्वपूर्ण बैठकहरू कोरम नपुगेर निरर्थक प्रायः बने । मेयर हर्क साम्पाङको कार्यशैलीबाट स्थानीय निर्वाचनमा उनलाई भोट हालेका मतदाताहरू नै आजित बन्न थालेका छन् ।
आफूलाई विश्वले चिनेको श्रमदाता भएको दाबी गर्ने हर्कले धरानमा शिक्षा, स्वास्थ्य र सुशासनको क्षेत्रमा काम गर्न सकेका छैनन् । मेयरको धेरैजसो समय त विवाद, भनाभन र आफ्नै लफडामा अल्झेर खेर गइरहेको देखिन्छ । मेयर हुनुअघि उनी स्थानीय मुद्दालाई लिएर एक्लै भएपनि आन्दोलन गर्थे ।
आफ्ना कुरा नसुनेको भन्दै मेयरलाई उनी निरंकुश भन्थे । तर, स्वयम् मेयर हुँदा सयौँको सङ्ख्यामा प्रदर्शन गरिरहेकाहरूलाई उनले ‘झोले, चोर, फाटाहा’ जस्तो शब्द प्रयोग गरेर अपमान गरिरहेका छन् । जसले गर्दा एउटा जनप्रतिनिधिको साख गिर्दैछ, त्यो हर्क साम्पाङले मनन गर्नु जरुरी छ ।