काठमाडौँ । भारत सरकारका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूसँग भेट गरेका छन् ।
शुक्रबार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिब साँढे ११ बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
यस घटनापछि शनिबार नेपाल आएका राज्यमन्त्री खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।
उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गर्दै भने, ‘दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ । उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’