काठमाडौं । रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपाली युवाको उद्धारमा पहल गर्ने बताएका छन् । बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
रुसी सेनामा भर्ती भएका नेपाली युवाको समस्या प्रस्टरुपमा बाहिर नआएको भन्दै उनले आफ्नो कार्ययोजनामा भनेका छन्, ‘एउटा जटिल समस्याका रूपमा देखिएको यो विषय सेनासँग सम्बन्धित भएकोले सबै कुरा प्रस्टसँग बाहिर आएको छैन । बिचौलियाहरूको प्रलोभनमा परेर हाम्रा युवाहरू युद्धको भुमरीमा परेका छन् । तिनीहरूको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा उद्धारका लागि हरसम्भव प्रयास हुनु जरुरी छ ।’
प्रस्तावित राजदूत चौहानले नेपाल–रुस सम्बन्धको प्रारम्भ गौरवशाली रहेपनि विभिन्न कारणवश पछिल्ला वर्षहरूमा त्यसलाई निरन्तरता दिन नसकिएको बताएका छन् ।
दुई देशबिचको फलदायी सम्बन्ध विस्तारका लागि सम्भावनाका ढोकाहरू प्रशस्त रहेके भन्दै उनले नेपालको राष्ट्रिय हितमा नेपाल–रुस सम्बन्धलाई अगाडि बढाउन नेपाल सरकारको निर्देशनअनुसार आफ्नो क्षमतालाई समर्पण गर्न सदा तत्पर रहने समेत प्रतिबद्धता जनाएका छन् ।