Logo
Logo

चिर्कटोले हल्लीखल्ली, निर्वाचित पदाधिकारीमाथि छानबिन हुने


2.8k
Shares

काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन भएको डेढ महिनापछि टुंगो लगाएको पदाधिकारी र पोलिटब्युरो विवादित बनेको छ । अध्यक्ष माधवकुमार नेपालको सचिवालयको नामबाट ‘चिर्कटो’ बाँडिएपछि नेपालनिकट नेताहरू नै विरोधमा उत्रिएका छन् ।

‘चिर्कटो’ नेपाल र महासचिव घनश्याम भुसाल दुवै पक्षका नेताको नाम थियो । यद्यपि, मतदान अवधिभर नेताहरूले आफूअनुकुल धेरैवटा ‘चिर्कटो’ बाँडेका थिए । त्यही चिर्कटोको विषयले नवनिर्वाचित पदाधिकारीमाथि छानबिन गर्नुपर्ने अवस्था आएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी चयन गर्न भएको निर्वाचनमा आचारसंहिता उल्लंघनमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । गत बिहीबारको केन्द्रीय समिति बैठकमा चुनावी नतिजा नै हेरफेर हुने गरी आचारसंहिता उल्लंघन गरिएको भन्दै विरोध भएपछि अध्यक्ष नेपालले छानबिन गर्ने प्रतिबद्धता जनाउन बाध्य भएका हुन् ।

अध्यक्ष नेपाललाई विवादमा ल्याउने र बदनाम गर्ने गरी गतिविधि भएकाले छानबिनको आवश्यकता परेको विषय नेताहरूले उठाएका थिए । निर्वाचित उपाध्यक्ष गंगालाल तुलाधर, उपमहासचिव रामकुमार भट्टराईलगायत ९ जनाले मतदान गर्नुपर्ने उम्मेदवारको लिस्ट बाँडेर निर्वाचनमा आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै केन्द्रीय सदस्यहरूले उजुरी नै दिएका छन् ।

‘पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा निर्वाचित उपाध्यक्ष र उपमहासचिवसहित नौ जनाको समूह बनाएर निर्वाचन आयोगले जारी गरेको र केन्द्रीय कमिटीले अनुमोदन गरेको आचारसंहिता विपरीत अध्यक्षलाई विवादमा ल्याउने र बदनाम गर्ने गरी मतदान प्रक्रिया प्रभावित गर्न गम्भीर अपराध गरेकाले छानबिनको माग गरिएको हो,’ पोलिटब्युरो सदस्य उर्वरादत्त पन्तले भने ।

तुलाधर, भट्टराईलगायतलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग उनीहरूको छ । छानबिन समितिमा महाधिवेशन हलबाट निर्वाचित अध्यक्ष, सम्मानित नेता र महासचिव तथा निर्विरोध निर्वाचित राजेन्द्र पाण्डे मात्र रहनुपर्ने माग उनीहरूको छ ।

बैठकमा उर्वरादत्त पन्त, रामकुमारी झाँक्री, श्रीप्रसाद साह, देवसिंह मेहता, आलोक रायमाझी, भास्कर काफ्ले र शंकर भण्डारीलगायतले निर्वाचनमा भएको विकृतिबारे कुरा उठाएका थिए ।

निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले पनि आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका थिए । पौडेलले व्यक्तिको नाम नबताए पनि आचारसंहिता उल्लंघनको घटनाबाट लज्जित भएको बताएका थिए । उनले समस्यासहित विस्तृत रिपोर्ट पछि पेस गर्ने बैठकमा जानकारी गराएको एक नेताले बताए । पौडेलले आचारसंहिता विपरीत लिस्ट हेरेर मतदान गर्दै गर्दा केही लिस्ट खोसेर ल्याएको बताएका थिए । एउटै व्यक्तिको सयौँ पोस्टर प्रचार गरेको देखेपछि केही जफत गरेको पनि उनले बैठकलाई जानकारी गराएका थिए ।

निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता जारी गरिएको थियो । आचारसंहितामा व्यक्तिगत रूपमा भोट माग्न पाइने, तर अरूका लागि भोट नमाग्ने, प्रचारबाजी नगर्ने, समूह बनाए जान नहुने, प्रचार सामग्री प्रयोग गर्न नपाउने उल्लेख थियो । तर, उम्मेदवारी दर्तादेखि मतदानको वेलासम्म लिस्ट बाँड्ने काम भएको थियो ।

महाधिवेशनको म्यान्डेट उलंघन
गत असार १६–२१ मा सम्पन्न महाधिवेशन हलबाट केन्द्रीय सदस्य र पदाधिकारी सहमतिमा चयन गर्ने म्यान्डेट एकीकृत समाजवादीले लिएको थियो । महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ केन्द्रीय चयन गरेको थियो ।

प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने करिब एक हजार ८ सय प्रतिनिधिको अधिकारलाई अपूर्ण केन्द्रीय कमिटीले लियो । र, गत साउन १८ मा थप सदस्य मनोनीत गरी ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी पु¥याइयो । जबकि, महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय कमिटी २९९ हुने व्यवस्था छ । विधान विपरीतको कमिटीले १८ जना पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यको निर्वाचन गर्ने निचोड निकाल्यो । नेतृत्वले टीका लगाएर छानेका केन्द्रीय सदस्यले पदाधिकारी र पोलिटब्युरो सदस्य निर्वाचित गरे ।

प्रतिस्पर्धामा केही पुराना र चर्चित अनुहारहरू पराजित भएका छन् । उपाध्यक्षमा रामकुमारी झाँक्रीको पराजय बढी चासो र चर्चाको विषय बन्यो–आखिर किन हारिन् रामकुमारी ?

पार्टीभित्र र बाहिर लोकतन्त्रका लागि संघर्ष गर्दै आएकी झाँक्रीको चर्चा हुनु स्वाभाविक हो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रविरुद्ध रगत बगाएकी झाँक्री एमालेमै रहँदा अध्यक्ष केपी शर्मा ओलीको शैलीविरुद्ध कडा रुपमा प्रस्तुत भएकी थिइन ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा टिप्पणी गरेपछि उनलाई ‘राज्यविरुद्धको कसुर’ अभियोग लगाई पक्राउ गरिएको थियो । चर्को दबाब भएपछि उनलाई त्यही दिन रिहा गरिएको थियो । विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा आएकी झाँक्री आफूलाई लागेको विषय सिधै निर्धक्क राख्दै आएकी छिन् । नेतृत्वले चुनौती देख्दै आएकाले सम्पूर्ण शक्ति लगाएर हराउने काम भएको उनीनिकट नेताहरू दाबी गर्छन् ।

निरंकुशताविरुद्धको आन्दोलनको क्रममा उनी पटक–पटक पक्राउ परेकी छिन् । निर्वाचनमा झाँक्रीलाई हराइएपछि प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर भाइरल भएको थियो ।

ओली सरकार हटेर बनेको कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा २०७८ असोजमा उनी सहरी विकासमन्त्री बनिन् । २०७९ असारमा उनलाई पार्टीले मन्त्रीबाट फिर्ता बोलाएको थियो । मन्त्रीबाट फिर्ता हुँदा रुवाबासी गरेको र पार्टी अध्यक्षविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको विषयसँग पनि झाँक्रीको पराजयलाई हेरिएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट उनी एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

२०७८ भदौमा एकीकृत समाजवादी बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी झाँक्रीले पार्टी विभाजनको औचित्य साबित हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेकी थिएन । तर, ०८१ भदौमा ठूलो मतान्तरले उनी पराजित भइन् । उनी यसअघि एकीकृत समाजवादीको सचिव थिएन । झाँक्री नेतृत्वको कोपभाजनमा परेको विश्लेषण गरिएको छ ।

झाँक्रीले ११२ मत ल्याएर पराजित हुँदा जयन्ती राईले १९९ मत ल्याएर विजयी भइन् । राईको मत सर्वाधिक हो । अन्य कुनै पनि पदाधिकारीले त्यति धेरै मत ल्याउन सकेनन् । राईको पनि राजनीतिमा ठूलो योगदान छ ।

झाँक्रीले हार्नुको मुख्य कारण अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग बढेको दूरी भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । कोटाको विरोध गर्दै आएकी झाँक्री कोटाबाटै निर्वाचनमा उम्मेदवार बन्नु पनि उनको हारको अर्को कारण बन्न पुग्यो । त्योभन्दा ठूलो कुरा निर्वाचनस्थल बानेश्वरमा झाँक्री एमालेमा प्रवेश गर्दै छिन् भन्ने कुरा ‘भुसको आगो’झैँ फैलियो ।

झाँक्रीले पछिल्ला समय दिएको अभिव्यक्ति र निष्कृयताले केन्द्रीय सदस्यहरूलाई शङ्का गर्ने ठाउँ रह्यो । निर्वाचनमा सबैभन्दा बढी मत माग्न झाँक्री नै खटिएकी थिइन । नेतृत्वले असहयोग गरेको कुरा उनले मतदानकै क्रममा थाहा पाइसकेकी थिइन । किनकि, मत दिनुपर्ने उम्मेदवारको सूची मात्रै होइन, मत दिन नहुने उम्मेदवारको सूचीसमेत मतदाता केन्द्रीय सदस्यलाई वितरण गरिएको थियो ।

‘आलोचनात्मक चेत राख्ने झाँक्रीसहित डा. विजय पौडेल र प्रकाश ज्वालाको नाम ‘रेड लिस्ट’मा थियो’ एक केन्द्रीय सदस्यले भने ‘पोलिटब्यूरोमा पनि हराउँछन् कि भन्ने लागेको थियो ।’ ज्वाला उपाध्यक्षमा चौथो नम्बरमा निर्वाचित भएका छन् । झाँक्री र पौडेल पदाधिकारीमा पराजित भए भने पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएका छन् ।

समाजवादीभित्र झाँक्रीमाथि एमाले नेताहरूसँग निकट रहेको आरोप लाग्ने गरेको छ । उनले पार्टी विभाजनको औचित्य पुष्टि गरी बलियो पार्टी नबने पार्टी एकताका लागि तयार रहनुपर्ने बताउँदै आएकी छिन् ।

निर्वाचनबाट भागेकालाई वरिष्ठ नेता
एकीकृत समाजवादीले निवर्तमान उपाध्यक्षहरू घनेन्द्र बस्नेत, डा. बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले बस्नेत, भुसाल र हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

के आधारमा तीनजनालाई वरिष्ठ नेता बनाइयो भन्ने प्रश्न केन्द्रीय सदस्यहरूले गरेका थिए । अरूलाई निर्वाचन गर्ने, निर्वाचनबाट डराउनेहरूलाई सिधै वरिष्ठ नेता बनाउन पाइँदैन भन्दै केही सदस्यले कुरा उठाए पनि टालटुले जवाफ दिएर प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

बस्नेतले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए पनि नेतृत्वको आग्रहमा फिर्ता लिएका थिए । भुसाल र हमालले सहमतिमा वरिष्ठ नेता दाबी गरे पनि निर्वाचन हुने भएपछि उम्मेदवार बन्न डराएका थिए । भुसाल र हमालको आधार निकै कमजोर रहेको एक निर्वाचित पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्