Logo
Logo

समाजवादीमा धोकाको राजनीति


1.1k
Shares

काठमाडौं । ‘काशी जानु कुतिको बाटो’ भनेजस्तो एउटा उद्देश्यका लागि हिँडेको बाटो अर्को बाटो पछ्याउँदा माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पनि केपी ओलीको एमालेजस्तै व्यक्तिवादी दलको रुपमा रूपान्तरित भएको छ ।

मनोनीत केन्द्रीय सदस्यबाट निर्वाचित हुनुपर्ने केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्यको सिलसिला हेर्दैमा ‘दूधको साक्षी बिरालो’ भनेजस्तो भयो । एक त केन्द्रीय सदस्य नै नेताहरूको भागबन्डामा छानिए । त्यसमाथि ती केन्द्रीय सदस्यले पदाधिकारी र पोलिटब्युरो सदस्य निर्वाचित गर्नुपर्ने भएपछि नेतापिच्छेका चार–पाँच वटा चिट बाँडिदा भद्रगोल भएको छ ।

पार्टीभित्र माधव नेपालको एकछत्र बहुमत रहँदै आएको भए पछि उनको इच्छाविपरितका मान्छे न केन्द्रीय सदस्य हुन सके, न त पदाधिकारी नै । केन्द्रीय सदस्य छान्दैमा माधवका भित्रियामध्ये पनि खास–खास मान्छे मात्रै परे । त्यसक्रममा झलनाथ खनाल र घनश्याम भुसाललाई निश्चित भाग दिइयो । पदाधिकारी छान्दा महाधिवेशनसम्म माधव नेपालको भनेर चिनिएका मान्छे हराइँदा घनश्यामपक्षीय नेताले चुनाव जित्ने स्थिति बन्यो ।

चर्चित नेतृ रामकुमारी झाँक्रीलाई उपाध्यक्षमा हराइँदा जयन्ती राईले जितिन् । चुनाव जितेर एक टेलिभिजनलाई अन्तर्वार्ता दिन जाँदा जयन्तीले मुख खोलेरै भनिन्, ‘म घनश्यामतिरबाट उपाध्यक्ष भएकी हुँ ।’ यस्तो हुनुको कारण हो, रामकुमारी आफैँ माधव नेपालपक्षकी हुँदाहुँदै पनि माधवका भित्रियाहरूले उनको रिस गर्नु । रामकुमारी अगाडि बढ्दा राजनीतिमा माधव नेपालपछि उनकै हालीमुहाली चल्ने कारण उनलाई चुनाव हराउन भित्रियाहरू सल्बलाएका हुन् ।

माधव नेपाल आफैँले रामकुमारीलाई चुनाव हराउन भनेका थिएनन् । तर, उनको भित्री टिम बनाउँदै चिट बाँड्ने रामकुमार भट्टराई, मोहन गौतम, नितेश पौडेल, जगन्नाथ खतिवडाहरूले मिलेर उनलाई हराए । उनले चुनाव जितेको भए रामकुमार भट्टराईकी पत्नी कल्याणी खड्कादेखि सचिव जितेकी सावित्रा भुसालसम्मका राजनीतिक हिसाब किताब गोलमाल हुने कारण उनीहरू त्यसरी लागेका थिए ।

जयन्तीलाई वरिष्ठ नेता बनाएर रामकुमारीलाई सर्वसम्मत महिला उपाध्यक्ष बनाउनुपर्छ भन्ने माधव नेपालका एकथरि मान्छेहरूको प्रयास थियो । तर, रामकुमारी त्यसरी उपाध्यक्ष हुँदा लुम्बिनी प्रदेशमा उनी नै हाबी हुने र आफ्नो राजनीतिक पकड संकटमा पर्ने कारण यो कुरालाई भाँड्नका लागि सम्धी सोमप्रसाद पाण्डे आफैँ सक्रिय भए ।

माधव नेपालको खास मान्छे भनेर चिनिने लक्ष्मण केसी पनि आफ्नै टिमभित्रको लडाइँको सिकार भए । अखिल पृष्ठभूमिबाट आएका उनीभन्दा सिनियर नेताहरु अहिले बल्ल बल्ल केन्द्रीय सदस्यमात्रै भइरहेका छन् । मोहन गौतम आफैँ पोलिट्व्युरोसम्म हुने सपना देखिरहँदा लक्ष्मणले उपमहासचिव बन्न चाहेको कुरा उनीहरूलाई हजम भएन ।

लक्ष्मणको उच्च महत्वाकांक्षालाई असफल पार्नका लागि माधवकै भित्री मान्छेहरु लागि परे । लक्ष्मणले मात्रै चुनाव हारेनन्, उनीसँग निकट मानिने दिलु पन्तले पनि सचिवमा हारिन् । दिलुले सचिवमा हार्दा घनश्याम पक्षका चन्द्रबहादुर शाहीले चुनाव जिते । दिलुले ९० मत ल्याएकी थिइन्, ९१ मत ल्याउने चन्द्रले जिते ।

जीवनराम श्रेष्ठले उपमहासचिव जित्लान् भनेर गरिमा शाहलाई कूल मत जोड्दा ११ मत बढी दिएर जिताइयो । अरु चुनाव भए जीवनराम अदालतसम्म जाने स्थिति हुन्थ्यो । तर, दुबै जना घनश्याम पक्षको भएका कारण केही गरेनन् ।

यसरी माधव नेपालका मान्छेहरू आपसमै झगडा गर्नाले २१ पदाधिकारीमा घनश्यामका ७ जनाले चिठ्ठा परेको शैलीमा चुनाव जिते । जित्नेमा उपाध्यक्ष जयन्ती राई, प्रकाश ज्वाला, भानुभक्त जोशी, उपमहासचिव गरिमा शाह, सचिव बलदेव चौधरी र चन्द्रबहादुर शाही भुसालपक्षीय हुन् ।

कतिपय मान्छेलाई माधव नेपाल आफैँले ‘जिताउन सकिँदैन’ भनिदिएको भए खुसीले उम्मेदवारी फिर्ता लिएर बस्ने अवस्था थियो । तर, माधवलाई सोध्दा पनि ‘हुन्छ–हुन्छ’ भनेर उम्मेदवारी दिनेहरूले चुनाव हारेपछि उनीहरू माधवसँगै ‘फायर’ भएका छन् ।

बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, महेश रेग्मी, केशव विष्टसहितका व्यक्तिहरूले महाधिवेशनभरि माधवको पक्षमा निकै मेहेनत गरेका थिए । तर, पदाधिकारी चुनावमा माधवकै भित्रियाबाट उनीहरू हराइए ।

पदाधिकारीमा भन्दा चर्को गुटबन्दी पोलिट्व्युरोमा भयो । सबैभन्दा बढी मत ल्याउने विरोध खतिवडाले २ सय १ र सबभन्दा कम मतका साथ जित्ने शंकर पोखरेल, रमा घर्ती, खिनु लङ्वा, अम्बिका थापा र शिवप्रसाद भण्डारीले १ सय ७ मत ल्याउँदा चुनाव जिते । १ सय ६ मत ल्याउने प्रभा बज्राचार्य, १ सय ५ मत ल्याउने इन्जिनियर गम्भीरलाल श्रेष्ठ, १ सय ४ मत ल्याउने ललितबहादुर बस्नेत, पीताम्बर तिम्सिनाहरूले चुनाव हारे ।

पार्टीको कामभन्दा नेताहरूलाई ऋण सापटी चलाउने मान्छेहरूले पोलिटब्युरो सदस्य जितेका छन् । साँखुमा रिपोर्ट चलाउने दोलखाकी चुनु केसीले १ सय १८ मत ल्याउनुका पछाडि त्यस्तै कारण भएको बुझिन्छ । पीताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, प्रभा बज्राचार्यहरूलाई मत गणनाका क्रममा ‘मिलाएर’ हराइएको हो भनिन्छ ।

सबभन्दा बिजोग एकता प्रक्रियाबाट आउनेहरूको भयो । आलोक रायमाझी, देवसिंह मेहता, यादव रायमाझी, हिमालचन्द्र खरेलहरू विभिन्न पार्टीबाट एकीकृत समाजवादीमा आएका हुन् । तर, पोलिटब्युरो बनाइनबाट वञ्चित भए । पाल्पाका रायमाझी र अशोक शाही त ढुक्कसँग सोमप्रसाद पाण्डेको बानेश्वरस्थित घरमै डेरा जमाएर बसेका थिए । पाण्डेले जिताउने आश्वासन पनि दिएका थिए, तर धोका भयो । अझ सोमप्रसाद कुन मुखले पाल्पा फर्किएलान ? रायमाझी भनेका एमाले पूर्वसांसद तथा जिबिस सभापति हुन् ।

इमानदार नेताको छवि बनाएका रायमाझीलाई पोलिटब्युरोमा हराएर पाण्डेले ठूलो राजनीतिक बेइमानी गरे । अर्का तानसेनका पूर्वमेयर अशोक शाहीले पाण्डेको चलुर्याइँ बुझेर कुनै पदमा उम्मेदवारी दिएनन् । शाहीले रायमाझीलाई पाण्डेको विश्वास नगर्नुस् है भनेका थिए । तर, सोझा रायमाझीले एक पटक पाण्डेको नियत जाँचौँ भनेर उम्मेदवारी दिएका थिए ।

कञ्चनपुर भूगोलमा काम गर्ने लालबहादुर खड्का, बझाङका दिलबहादुर सिंहले पोलिटब्युरो हारेर नेताको पछि मात्रै लाग्ने डडेल्धुराकी निरादेवी जैरुले चुनाव जितिन् । बरु पतिपत्नीले नै चुनाव जिते । जस्तै, उर्वादत्त पन्त र माया पन्तले चुनाव जिते । विरोध खतिवडाले सबैभन्दा धेरै भोट ल्याउँदा उनकी पत्नी मुनु सिग्देलले पनि पोलिटब्युरो सदस्य जितिन् ।

प्रतिक्रिया दिनुहोस्