काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्ताबेज सर्वसम्मतले पारित भएको छ ।
![](https://www.drishtinews.com/wp-content/uploads/2024/12/mohan-baidhya-kiran1.jpg)
शुक्रबार त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुरमा बसेको बन्दसत्रले संयोजक किरणलेको दस्ताबेज अनुमोदन गरेको हो । जनयुद्ध, माओवादी र संघीयताको विषय पनि वैद्यकै लाइन पास भएको रामसिंह श्रीसले जानकारी दिए ।
श्रीसले भने, ‘मूल प्रस्ताव लगायत सबै प्रस्ताव पास भए । सांगठनिक प्रतिवेदन भोलि अनुमोदन हुनेछ । पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद हुनेभयो । माओवादी विचार धारालाई आवश्यकता अनुसार छलफलमा लैजाने भयो ।’
‘जनयुद्धको सम्बन्धमा किरणले गरेको समीक्षालाई नै अनुमोदन गरेको छ । यसलाई विषयमा नउठाउने भएको छ । आन्तरिक रूपमा उठाउन पाइने भयो तर बाहिरी फोरममा उठाउन नपाउने भएको छ’, श्रीसले भने, ‘संघीयता पार्टीले अंगिकार गर्दै आएको पहिचान र आत्मनिर्णयको आधिकारसहितको संघीयतालाई कार्यान्वयनमा लैजाने गरी दस्ताबेज अनुमोदन भएको छ ।’
समूहगत छलफलबाट आएका प्रश्नको जवाफ दिँदै संयोजक वैद्यले जनयुद्धमा केही कमीकमजोरी भएपनि महान् भएकाले प्रश्न उठाउन आवश्यक नभएको बताए ।
संयोजक वैद्यले यसअघि मंसिर १५ गते बन्दसत्रमा आफूहरू प्रचण्डसँग विद्रोह गरेर आएको र मोहन विक्रमको गलत नीतिप्रति विद्रोह गरेर नेपाली समूह आएकाले अब नयाँ संश्लेषण गरेर जानुपर्नेमा जोड दिए । जनयुद्ध र विद्रोहलाई फरक रूपले व्याख्या गर्नुपर्ने भन्दै सबैलाई एउटै डालोमा राख्न मिल्दैन मत राखेका थिए ।