काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन भोलि (शनिबार) विराटनगरमा हुँदैछ । प्रदेश सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् ।
तर, नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । वरीयता विवाद भएपछि कोइरालाले विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् ।
स्रोतका अनुसार मञ्चमा सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग शेखरले राखेका थिए । तर, पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेका हुन् । केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।
कोइरालाको सचिवालयका अनुसार कोइरालाले भने शनिबार चितवन जाँदैछन् । कोइराला शनिबार पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुनेछन् ।