Logo
Logo

‘सबैले ०८४ पछि काम गर्छु भन्छन्, तीन वर्षको जिम्मा कसले लिने ?’


567
Shares

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कुनै पनि नेताले ०८४ सालको निर्वाचनबारे सोच्न नहुने बताएका छन् । पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवमा बुधबार बोल्दै नेता थापाले विकास मात्रै नेपालको एजेण्डा भएको बताएर तीन वर्ष कांग्रेसले विकासका बारेमा मात्रै सोच्नुपर्ने बताए ।

उनले कांग्रेसको कुनै दुष्मन नभएको र दुष्मन कोही छ भने त्यो गरिबी भएको बताएका छन् । कांग्रेसको कुनै अर्को पार्टी पनि दुष्मन पार्टी नभएको बताए । उनले एउटा कम्युनिष्टलाई बाँच्न कोही न कोही दुष्मन चाहिने भन्दै पार्टी बैठकमै दुष्मनका बारेमा लेखिने गरिएकामा कांग्रेसले भने कोही पनि दुष्मन पार्टी नभएको स्थापित गर्दै जाने बताए ।

उनले अबको एउटै विकल्प भने आय आर्जन बढाउने र धनी बन्ने भएको बताएका छन् । उनले १० वर्षभित्र अहिलेको आम्दानीलाई चार गुणा बढाउने लक्ष्य हुनुपर्ने बताए । उनले संविधानमा लेखिएका कुरा बाहेक अरु विकसित नभएको भन्दै संसदमा ३३ प्रतिशत महिला भनेपछि भएको, दलित भनेपछि भएको तर सरकारमा लैजानै पर्छ भनेर नभनेसम्म त नहुँदा रहेछ भनी तीतो सत्य सुनाए ।

उनले जाति जनजाति, दलित गैरदलित, पहाडी मधेसी सबै हुनुपर्ने र सामाजिक संस्कार सबैले पाउनुपर्छ भनेर सिक्नुपर्नेमा जोड दिए । नेता थापाले काठमाडौँलाई मात्र अधिकार दियो भने जग्गाको भाउ मात्र बढाउँदो रहेछ भनेर सिकाएकाले गाउँगाउँ पनि अधिकार छरिएको बताए ।

उनले प्रजातन्त्र नेपालमा बलियो भएको बताउँदै भने, ‘५० भन्दा बढी देशले नसकेको युद्धबाट आएको दललाई हामीले ग्रहण गर्न सक्यौँ, बहन गर्न सक्यौँ । यी सुखद पक्षहरु हुन् । नेपालको प्रजातन्त्र कसैले लैजान सक्दैन ।’ उनले आफूहरु चुकिरहेको भनेको विकासको गति भएको बताए । उनले अगाडि भने, ‘हामीले धेरै प्रगति गरेका छौँ तर पुगेन । विकास भयो तर पुगेन । विकासको गति पुगेन भनेर जनताले भनेका छन् । जीवनस्तर उकासिनु पर्यो भनेका हुन् ।’

विकासका लागि कसैलाई माफी दिने अवस्था नभएको भन्दै महामन्त्री थापाले, ‘हाम्रो अधिकारलाई जोगाएर ८० देखि ९० को १० वर्ष कुनै राजनीतिमा समय खेर नफाली विकासको गतिलाई कम्तीमा चार गुणाले बढाउनु पर्छ ।’ नेता थापाले भने, ‘नेपाली कांग्रेसले समयको महत्व बुझ्नु पर्छ । कांग्रेसले ०८४ को चुनावबारे अहिले चर्चा गर्न पाउँदैन। अहिलेसम्म एउटै पार्टीले सरकार बनाउन सकेको छैन । चुनावी एकता गरेर पनि सम्भव भएन । चुनावपछि एउटा पार्टीले बहुमत ल्याउन नसके पार्टी मिलेर सरकार बनाउनु पर्छ । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएको छ ।’

कसैलाई पनि काम नगर्ने छुट नभएको भन्दै नेता थापाले भने, ‘अहिले जसले पनि ०८४ पछि देश बनाउँछु भनेका छन् । अबको तीन वर्ष के गर्ने त ? बीपीको सरकार जम्मा १८ महिना चलेको हैन ? मनमोहनको सरकार ९ महिना चलेको हैन ? काम गर्नेलाई तीन वर्ष बढी नै हो । तसर्थ तीन वर्षको समयका लागि कांग्रेसले मिसन ०८४ हैन मिसन गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी भन्नु पर्छ ।’

उनले कांग्रेसले संघदेखि स्थानीय तहसम्म हासिल गरेको जिम्मेवारीलाई बुझ्नुपर्ने बताए । ‘हामीले तीन वर्ष सरकार चलाउन पाउँदै गर्दा यो यथेष्ट समय हो । तर सबै सरकारले काम गर्ने होइन’, नेता थापाले भने । स्वास्थ्य बिमा सोचेको जस्तो नभइरहेको भन्दै नेता थापाले भने, ‘नेपालमा घरवारविहीनदेखि राष्ट्रपतिसम्मले उपचार पाइन भनेर भन्ने अवस्था नआओस् । सबै नेपालीका छोराछोरीले गुणस्तरीय शिक्षा पाउनु पर्छ । बाँकी रहेको सबै व्यक्तिले गर्छ ।’

उनले अगाडि भने, ‘विद्युत प्राधिकरणले मात्र बिजुली उत्पादन गर्ने भएको भए आज देशभर नै उज्यालो हुन्थ्यो त ? भएको त निजीकरणले गर्दा भएको हो नि । नेपालमा सरकारले मात्र जहाज उडाउने भएको भए अन्य निजी क्षेत्र कसरी आउँथ्यो त ? भारतको सडक बन्यो भन्दै गर्दा त्यो सडक कसले बनायो भनेर ख्याल गर्दैनौं । सडक पनि निजी क्षेत्रलाई छोडिदिँदा हुन्छ । विमानस्थल पनि सरकारले चलाउनु पर्छ भन्ने होइन । सरकारले निजी क्षेत्रलाई छाडिदिने हो भने धेरै काम नेपालीले नै गर्न सक्छन् । सूचना प्रविधिमा त अहिले युवाले गजब नै गरेका छन् ।’ उनले देश बिग्रियो डुब्यो भनेर बिहानदेखि साँझसम्म घरमा भनेर छोरा नातिलाई विदेश पठाउने बाटो नखोल्न समेत आग्रह गरेका छन् । उनले सबैले मिलेर काम गर्ने हो भनेर भन्न सक्नुपर्ने पनि उनले बताए

प्रतिक्रिया दिनुहोस्