काठमाडौं । १४औँ महाधिवेशनमा कांग्रेसको संस्थापन भनिने शेरबहादुर देउवा समूहलाई साथ दिएका नेताहरू धमाधम शेखर कोइराला समूहतिर सर्न थालेका छन् । १४औं महाधिवेशनमा केन्द्रीय समितिमा देउवा समूहले करिब ८२ प्रतिशत मतको हैसियत राखेको दाबी गरिँदै आए पनि अहिले त्यो अवस्था खस्कँदै गएको छ ।

कांग्रेसको १४ सदस्यीय पदाधिकारीमा १४औं महाधिवेशनपछि सभापतिसहित १ उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक ९ जना संस्थापनका थिए । कार्यसम्पादन समितिमा समेत संस्थापनकै बाहुल्य रहेको थियो । १५औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षधर नेताहरू शेखरतिर झुम्मिन थालेका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्मा खुलेर कोइरालाको पक्षमा उभिएका छन् । देउवा समूहका अरु नेताहरू भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, मोहनबहादुर बस्नेत पनि कोइरालातिर खुलेका छन् ।
१४औँ महाधिवेशनमा देउवालाई समर्थन गरेकी सुजाता कोइरालाले पनि देउवासमूह छाडिसेकी छिन् । पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पनि अबको महाधिवेशनमा कोइराला परिबार एकै ठाउँ रहने उद्घोष गरिसकेका छन् ।
देउवा समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्दै हारेका प्रदीप पौडेल पनि शेखर कोइरालासँगै जोडिएका छन् । विगतमा कृष्णप्रसाद सिटौलानिकट पौडेल हाल स्वास्थ्य मन्त्री छन् ।
कोइराला समूहनिटक एक कांग्रेस केन्द्रीय सदस्यका अनुसार देउवाका हाडकोर समर्थक मानिने नेता एनपी साउद पनि कोइरालाका कार्यक्रममा देखिन थालेका छन् । उनी पनि नेता कोइरालाकै शैलीमा पछिल्लो समय सरकारका व्यथितिविरुद्ध खुला रुपमा विरोधमा उत्रिएका छन् ।
भुटानी शरणार्थी काण्डमा मुद्दा चलाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि देउवाबाट संरक्षण नमिलेको भन्दै कित्ता परिवर्तन गरेको ती केन्द्रीय सदस्यले बताए ।
यता, नेताहरू किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि कोइराला समूहतिर लाइन मिलाइसकेको बताइन्छ । देउवाका विश्वास पात्र रहेका यी नेताद्वयको छलफल निर्णायक तहमा पुग्न अझै बाँकी नै रहेको स्रोतको दाबी छ ।
कांग्रेसको विधानअनुसार देउवा अब सभापति बन्न नसक्ने हुँदा उनीनिकट नेताहरू धमाधम कोइराला समूहतिर लागेका हुन् । १४औं गत महाधिवेशनमा कांग्रेसका १३ पदाधिकारी मध्ये उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारले कोइराला समूहबाट चुनाव जितेका थिए । उनीहरू भने कोइराला समूहमै छन् ।
केन्द्रीय नेताले एकपछि अर्को गर्दै देउवालाई छाडे पनि शेखर समूहबाट महामन्त्री जितेका गगन थापा भने पछिल्ला दिनमा आश्चर्यजनक रुपमा देउवासँग नजिकिएका छन् । गगनको अचेल देउवाविरुद्ध आक्रामक स्वर बन्द भएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि देउवा क्याम्पमै छन् । ‘यस्तै अवस्था हो भने १५ औं महाधिवेशनसम्म संस्थापन भनिने समूहमा दाई र भाउजु मात्र रहने छाँटकाँट देखियो,’ कोइरालापक्षीय ति नेताले ठट्यौली शैलीमा भने, ‘शक्ति कमजोर हुँदै गएपछि निजी स्वार्थका लागि कसरी मान्छेहरू साथ छाड्छन् भन्ने दृष्टान्त खोज्न टाढा जानै पर्दैन, देउवा दाइलाई हेरे पुग्छ ।’