​वर्षमानकै गाउँको पक्की पुल, ९ वर्षमा पनि बनेन

दृष्टि न्यूज

रोल्पा, १ फागुन । रोल्पा जिल्लाको सदरमुकाम लिवाङबाट पश्चिम भेगका तत्कालीन २६ गाविसका व्यापारिक केन्द्रहरु जोड्ने माडीखोलामा निर्माणाधिन पक्की पुल ९ वर्षसम्म पनि पूरा हुन सकेको छैन । माडी खोलाको किनारमा २ वटा पिल्लर बाहेक अरु कुनै काम पनि अघि बढेको देखिँदैन । 
पुल निर्माणका लागि सडक डिभिजन कार्यालय प्यूठानले २०६५ सालमा टेन्डर आह्वान गरी लामा एण्ड धर्मेन्द्र जेभी कम्पनीलाई ३ करोड ६८ लाखमा निर्माणको जिम्मा दिइएको थियो । तर २०६९ असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौतामा पुल निर्माणको जिम्मा पाएको उक्त कम्पनीले ५० लाख पेश्की लिएर केही निर्माण समाग्री ल्याई खोला छेउमा थन्क्याई कुनै काम अगाडि बढाएन् ।
४ वर्षपछि कम्पनीका सञ्चालक वसन्त जिसीले सम्झौतामा ६२ मिटर लम्बाई र ४ मिटर चौडाई भएकोमा उक्त पुलको स्टिमेट गर्दा लम्बाई फरक भएको भन्दै रकम र समयावधि थप्नुपर्ने बताएपछि २०६९ कार्तिक २६ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हृदेश त्रिपाठी र अर्थमन्त्री वर्षमान पुनले आएर पुलको शिलान्यास गरेका थिए । सडक डिभिजन कार्यालयले पुलको लम्वाई १० मिटर र चौडाई २ मिटर थप गरेको लागत ३२ प्रतिशतले बढाएर ४ करोड ८५ लाखमा पुनः सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो । पुलको हालसम्म दुई वटा पिल्लर उठाउनेबाहेक अन्य कुनै काम हुन सकेको छैन ।
जिल्लाका सरकोकारवाला निकायले सडक डिभिजन कार्यालय प्यूठान र ठेकेदारलाई ताकेता गरेपछि ०७२ असार मसान्तसम्म निर्माण गर्ने बाचा गरेको निर्माण कम्पनीले हालसम्म पनि काम सम्पन्न गर्न सकेको छैन । ठेकेदारले पुल नबनाई दिएपछि तत्कालका लागि उक्त स्थानमा सरोकारवाला निकायको पहलमा बेलिब्रिज निर्माण गरिएको छ ।

Related News