भक्तपुरमा भुकम्पपछिकै ठूलो प्राकृतिक प्रकोप, १५ घर ध्वस्त

दृष्टि न्यूज

काठमाडौं ।
राजधानीको भक्तपुर जिल्लामा गत २०७२  बैशाख १२ मा गएको बिनाशकारी भूकम्पपछिकै ठूलो प्राकृतिक प्रकोपको निशानामा परेको छ । यही असार २७ गते रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी तीन जनाको ज्यान गएको छ भने १५ वटा घर बाढीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो ।
यस पटकको बाढीमा राजधानीको भक्तपुर नराम्ररी प्रभावित बन्यो । भक्तपुरका सयौं घरको पहिलो तल्लामा बाढी पस्दा मानिसहरु माथिल्लो तल्लामा गएर बस्न बाध्य भए भने घरको सामान, लत्ता कपडा समेत सार्न नभ्याउँदा पानीमाथि तैरिएका दृष्य सामाजिक सञ्जालमा फैलिएका छन् ।

बुधवारको अविरल वर्षासँगै आएको पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक छैन ।
पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।
 

Related News