सिण्डिकेट रहेसम्म विकास र समृद्धि सम्भव छैन : गृहमन्त्री थापा

दृष्टि न्यूज

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । आज नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रालिले आयोजना गरेको  ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताएका हुन् ।
उनले भने, ‘अहिले पनि केही मुठ्ठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।’
यातायात मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाइ छ । उनले भने, ‘सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं । त्यो पुरा हुन सक्दैन ।’ सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि गृहमन्त्री थापाले अपिल गरेका छन् । 

Related News