​कहिल्यै अनसन बस्न नपरोस्

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । सदन र सडकमा प्रतिपक्ष नेपाली कांग्रेसले डा. गोविन्द केसीको समर्थनमा बोल्यो भन्दैमा उनीमाथि कांग्रेसको एजेन्डा बोक्यो भनेर आरोप लगाउनु केसीमाथि अन्याय हुनेछ । लोकतन्त्रमा  समर्थन र विरोध गर्ने अधिकार नेपाली कांग्रेसका लागि मात्र होइन, हरेक सचेत नागरिकमा सुरक्षित हुन्छ । त्यही सचेत नागरिकको नाम हो डा. गोविन्द केसी । स्वास्थ्य क्षेत्रमा चरम लापरवाहीका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् । देशैभरिका अस्पतालमा गएर बिरामीको अवस्था हेर्ने हो भने कहालीलाग्दो छ । एकातिर स्वास्थ्य क्षेत्रको अवस्था दयनीय छ भने अर्कोतर्फ स्वास्थ्योपचार व्यापारको वस्तु बनेको छ । जसलाई पनि अस्पताल खोल्ने अनुमति दिइनुले पक्कै पनि स्वास्थ्य सेवाको विश्वसनीयता खस्कँदै गएको छ । काठमाडौंका अस्पतालले मृर्गौला नै फेर्नु पर्छ भनेर भनेका बिरामी नयाँदिल्लीको अपोलोमा पुग्दा त्यो बिरामीको रोग नै अर्को कारणले भएको र मृर्गौला फेर्न नपर्ने भन्ने दिल्लीका डाक्टरको सुझावले पनि हाम्रो चिकित्सा पद्धति कति हावादारी छ भन्ने कुराको पुष्टि गर्छ । यो घटना अन्नपूर्ण पोष्टका पत्रकार विकास थापाको छोराको हो । केही दिन अगाडि मात्र एक जना पत्रकारलाई ग्राण्डी अस्पतालले काठमाडौंको धुलोको कारण फोक्सोमा खराबी भएको बताए र फोक्सोको अप्रेसन गर्नुपर्छ भने । ग्राण्डीजस्तो आधुनिक अस्पतालका डाक्टरले यसो भनेपछि ती पत्रकार डराएर नयाँदिल्ली गए । एक हप्ता सामान्य उपचार गरेर फर्किए । न त नयाँदिल्लीमा उनले फोक्सोको अप्रेसन नै गर्नुप¥यो । यहाँ भैदिएको भए उनको अवस्था के भइसक्थ्यो । यो घटना अनलाइनखबरका पत्रकार अरुण बरालको हो । यी त केही पात्रहरु मात्र हुन् । काठमाडौंका अस्पतालका डाक्टरका कारण गलत स्वास्थ्य परीक्षणबाट पीडित हजारौं छन् ।
पक्कै पनि डा. केसीले चिकित्सा क्षेत्रमा देखिएका यी र यस्ता समस्या नदोहोरिउन भनेरै माग गरेका हुन् । यो उनको व्यक्तिगत माग भन्दा पनि माथेमा आयोगले दिएको प्रतिवेदन कार्यान्वयन उनको प्रमुख माग हो । जुन मागप्रति हिजो नेकपा एमालेले समर्थन जनाएको थियो । तिनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बनेका छन् । हिजो आफैंले समर्थन गरेका प्रधानमन्त्री ओलीलाई आज त्यो माग किन ठिक लागेन ? तार्किक जवाफ जनसमक्ष आउनु पर्छ । डा. केसीको विषयलाई लिएर हाजिरी जवाफमा उत्रनुको अर्थ छैन । तर्कले डा. केसीको माग सम्बोधन हुँदैन । डा. केसीको माग पूरा गर्न सरकार हदैसम्म लचिलो बन्नुपर्छ । डा. केसीलाई कांग्रेसको कित्तामा पु¥याएर उनीमाथि अन्याय गरिनु हुन्न । 
डा. केसी अब यो मागलाई लिएर कहिले पनि अनसन बस्न नपर्ने स्थिति र वातावरण सरकारले बनाउनु पर्छ । चुनावमा चन्दा दिएको र एक दुई छाक व्यापारीको लन्च खाएको भरमा केसीको माग लत्याइनु हुन्न । राष्ट्रको आवश्यकता र सर्वसाधारण जनताको हितमा सरकार उभिनु पर्छ । कामना गरौं, डा. केसी अब कहिले पनि चिकित्सा शिक्षाको विधेयकलाई लिएर अनसन बस्न नपरोस् । 

Related News