डा. केसी समर्थनमा काठमाडौंमा सामूहिक अनसनको तयारी

दृष्टि न्यूज

काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने तयारी गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको भन्दै समर्थकहरु सामूहिक अनसनमा बस्ने तयारी गरेका हुन् ।
शनिबार डा.केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका छन् । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो डा. केसीको माग पूरा गर्नुपर्ने बताइन् ।
त्यस्तै कार्यक्रममा अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए । डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत पनि उपस्थित थिए । चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए । अनसन शनिबार २२ दिनमा जारी छ ।
डा. केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि अभियानकर्ताहरु चाँडोभन्दा चाँडो सरकारलाई दवाव दिन यस्तो अनसन सुरु गर्न लागेका हुन् ।
 

Related News