इक्यान मेलाको दोस्रो दिन २५ हजारद्वारा अवलोकन

दृष्टि न्यूज

काठमाडौं ।
उच्च शिक्षाका लागि विदेश जाने र जाने सोचमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित १२ औं बृहत इक्यान शैक्षिक मेलामा दोस्रो दिन पनि उत्साहजनक सहभागिता देखिएको छ । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको मेला पहिलो दिन बिहीबार १५ हजार विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको प्रथम सचिव एवम् मेला संयोजक दीपकराज भुषालले जानकारी दिए ।
विद्यार्थी तथा अभिभावकले एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली, शिक्षा नीति, अवसरको विषयमा जानकारी उपलब्ध गराइएको छ । २ सय २६ भन्दा बढी स्टल रहेको मेलामा १ सयभन्दा बढी स्वदेशी परामर्शदातृ संस्थाहरुको सहभागिता छ । मेलामा अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशका बारेमा सम्पूर्ण जानकारी लिन सकिन्छ । भुसालका अनुसार मेला अवधिभर करिब १ लाख जतिले मेलाको अवलोकन गर्ने अपेक्षा  गरिएको छ । विदेशका विभिन्न विश्वविद्यालयहरुका बारेमा जान्न उत्सुक विद्यार्थीहरुका लागि लक्षित यस मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेलामा निलगिरी डेन्टल प्रा. लि.बाट निःशुल्क डेन्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निशुल्क प्राथमिक उपचार केन्द्र एवम नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम नियमित रुपमा चारै दिन मेला अवधि भर सञ्चालन हुने जनाइएको छ ।
मेलाको टाईटल स्पोन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रा. लि., ईन एसोसिएसन विथमा मर्सि एजुकेसन कन्सल्टेन्सि प्रा. लि., मेन स्पोन्सर्समा काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सी प्रा. लि रहेका छन् । बिहीबार सुरु भएको मेला साउन ६ गतेसम्म चल्नेछ ।

Related News