​बेपत्ता पत्रकार खोज्दै सेनाको हेलिकप्टर कोल्टीमा...

दृष्टि न्यूज

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा तीन महीनाअघि हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजी गर्दै नेपाली सेनाको हेलिकप्टर बुधबार कोल्टी पुगेको छ । 
गएको ९ भदौमा बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै अज्ञात छन् । बेपत्ता भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर बुधबार बिहान सुर्खेतबाट कोल्टीमा अवतरण गर्दै थप खोजीका लागि स्थानीय नेपाली सेना, नेपाल प्रहरीलाई घटनास्थलमा पु-याएर खोजी कार्य भइरहेको प्रजिअ चेतराज बरालले जनाए ।
अज्ञात रहेका खड्काको जिल्ला प्रशासन, पत्रकार महासंघ, नेपाल प्रेस युनियन र सरोकारवालाहरुको पहलमा हेलिकप्टरबाट खोजी गर्न सम्भव भएको नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य मीनबहादुर बमले बताए । 
बेपत्ता भएका खड्काको खोजीका लागि गृह मन्त्रलायले रक्षा मन्त्रालयलाई हेलिकप्टरबाट खोजीका लागि पत्र पठाएर हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । करीब १५ वर्ष रेडियो नेपालको स्थानीय प्रतिनिधि भएर र ६ महीना रेडियो नेपाल सिंहदरबारमा काम गर्दै हाल रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्का बेपत्ता भएको तीन महीना बितिसकेको छ । 

Related News