​नेकपाले मदनलाई सम्झियो, जबजलाई बिर्सियो

डी.आर.घिमिरे

जनताको बहुदलीय जनवाद नेपाली माटोमा जन्मे, हुर्केको व्यवहारिक सिद्घान्त हो भन्ने कुरा पार्टी एकताबाट पनि पुष्टि भएको छ । नेकपा एमालेले मार्गनिर्देशक सिद्घान्तको रुपमा अंगिकार गरेको र तत्पश्चात् तत्कालीन एमालेले राजकीय सत्तामा हस्तक्षेप गर्दै आएको कारणले पनि यसले सिद्घान्तको रुप लिन सकेको हो । नेकपाको जग पनि यही जबज नै हो । तर, माओवादीसँग जेठ ३ गते पार्टी एकता गरिरहँदा एमाले नेताहरुले आफ्नो जग बिर्सिएर नेकपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद भन्ने कुरा उल्लेख गरेका छन् । मदन भण्डारी र जीवराज आश्रितको हत्या भएकै दिन मदनको तस्बिरमुनि पार्टी एकता गरिरहँदा जबजलाई बिर्सनु ठूलो अपराध हो । मदन स्वयंले जबजलाई माक्र्सवादको सिर्जनात्मक प्रयोग हो भनेर भनेपछि जबज र माक्र्सवादलाई छुट्याइरहनु पर्ने थिएन । जबज ब्यावहारिक रुपमै प्रयोग गरेर सफल भएकोले पनि यसप्रतिको आकर्षण वढेको कुरामा कुनै शंका छैन । सफल यस मानेमा कि  यसलाई अवलम्वन गरेपछि तत्कालीन एमाले मुलुकको पहिलो पार्टी वन्यो र विश्वासिलो पार्टी वन्यो । देशी विदेशी शक्तिले विश्वास गर्न थाले । विश्वले उक्त सिद्घान्तलाई आत्मसात गर्यो । वास्तवमा कम्युनिष्टलाई एकदलीय भनेर आरोपित गर्नेहरुलाई यो  सिद्घान्तले मुखभरिको जवाफ दियो । यसले लोकतान्त्रिक प्रक्रियालाई पूर्णत अवलम्वन गर्ने भएकोले यसको आफैमा विशिष्ट महत्व रहेको छ । बहुदलीय जनवादले आकार नलिउन्जेल गैर कम्युनिष्टहरु तर्सन्थे । कम्युनिष्ट भनेपछि अर्को कुनै ग्रहबाट आएको मान्छे हो कि भन्ने गर्दथे । अथवा उनीहरुले आफूलाई कम्युनिष्ट भइएला भनेर कल्पना पनि गर्दैनथे । तर अहिले सवै प्रकारका ब्यक्तिलाई यसको झण्डामुनि गोलवद्घ हुन कुनै हिच्किचाहट हुँदैन । त्यसैले पनि यो नेपाली माटोमा जन्मेको र हुर्केको सिद्घान्त हो भन्ने कुरामा कुनै शंका छैन ।
जवजको नेपाली माटोमा भएको प्रयोगका कारण माओवादी जनयुद्घवाट पछाडि फर्केर शान्तिपूर्ण वाटोमा आयो । यसको असफल प्रयोग भएको भए शायद उनी कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने मतियारका रुपमा चित्रित हुन्थे होला । माओवादीले युद्घलाई प्रयोग गर्यो भने एमालेले जवजलाई । अन्ततः जवज सफल भयो । त्यसैले पनि कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकरण गर्ने क्रममा जवज सफल प्रयोग हो । यसले माओवादीलाई पनि पर्याप्त शिक्षा दियो । माओवादी अर्थात् प्रचण्डको निर्णयक क्षमता यस कुरामा देखियो कि उनले जसले प्रयोग गरेको भएपनि सफल उदाहरणलाई आत्मसात गर्न कुनै संकोच मानेनन् ।  तर, पार्टी एकता गर्दा नेकपाले जबजलाई तिलाञ्जली दियो । नेकपाको विधानबाटै ‘जबज’ शब्द हटाइयो ।
आखिरी के हो त वहुदलीय जनवादको विशिष्टता 
नेपाल अधिराज्यको संविधान २०४७ जारी गर्दा जननेता मदन भण्डारीले २७ वुँदे असहमति प्रस्तुत गरेका थिए । ती असहमतिलाई धेरैले चित्त नवुझाए पनि  वैसठ्ठी त्रिसठ्ठीको आन्दोलनले तीनै मुद्घालाई स्थापित गर्यो । जन आन्दोलनवाट पुनस्र्थापित प्रतिनिधि सभाले जेठ ४ मा गरेको ऐतिहासिक घोषणामा तीनै कुरा हुनु भनेको मदन भण्डारीको दुरदर्शितानै हो । शायद २०४७ सालमा सवै पक्षले मदन भण्डारीका २७ वुँदे असहमतिलाई आत्मसात गरेको भए १० वर्षे जनयुद्घ हुने थिएन । जनयुद्घ नभएको भए १७ हजारले अनाहकमा ज्यान गुमाउने पर्ने थिएन । १७ हजारले अनाहकमा ज्यान गुमाउनु नपरेको भए र राजनीतिक आन्दोलन गर्नु नपरेको भए मुलुकले अहिले लिने वाटो वा गन्तब्य त्यतिवेलै लिने थियो । 
जवजलाई जान्न र वुझ्नका लागि १४ वटा विशेषता काफी छन् । ती विशेषता भनेका संविधानको सर्वोच्चता, वहुलवादी खुला समाज,शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, वहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, वहुमतको सरकार अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधिको राष्ट्र हितमा उपयोग, क्षतपुर्ति, राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा आधारित विदेश नीति, लोकतान्त्रिक प्रतिस्पर्धावाट नेतृत्व र अधिनायकत्वको स्थापना र जनताको वहुदलीय जनवाद रहेका छन् । यीनै विशेषताका आधारमा कम्यनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्न सफल भएको निष्कर्ष यदि सवैको हो भने र यही वाटोलाई सवैले गन्तब्य वनाउने हो भने जवजलाई संकीर्ण सोंचवाट हेर्नु जरुरी छैन ।
 दोवाटोमा अलपत्र जवज
अहिले अर्थात् कम्युनिष्ट पार्टी वनेपछि जवज दोवाटोमा अलपत्र छ । अलग अलग पार्टीहरु एउटै वन्ने क्रममा कैयौं ब्यक्ति अलपत्र पर्दछन् । सिद्घान्त अलपत्र पर्दछ । कार्यक्रम अलपत्र पर्दछ । यसलाई किन पनि अस्वभाविक मानिनु हुँदैन भने विगतदेखिनै यस्तो हुँदै आएको छ । यो कुरा अर्कै हो कि जवज जस्तो ब्यवहारवाट प्रमाणित भइ सकेको कार्यक्रमलाई पनि त्यसरीनै वाग्मतिमा वगाइरहनु पर्दैन ।  नेपाली कांग्रेसलगायतका दलहरुले कम्युनिष्टहरुलाई गाली गर्दा विदेशी भूमिको राजनीतिलाई अवलम्वन गरेको भनेर आरोपित गर्दछन् । यद्यपि उसले अवलम्वन गर्ने राजनीतिक दर्शन, सिद्घान्त यदि छ भने कहँीवाट आयातित अवश्यै छ । तर, पछिल्लो कालखण्डमा वीपीको प्रजातान्त्रिक समाजवादलाई स्वदेश भित्रैको सिद्घान्तका रुपमा लिए । यसको अर्थ कम्युनिष्टहरुले माक्र्सवादलाई आत्मसात गर्न कन्जुस्याई गर्नुपर्दैन । तर, हामीले प्रतिपादन गरेको मौलिक माक्र्सवाद, लेनिनवादमा आधारित सिद्घान्तलाई लागु गर्न वा अंगिकार गर्न लजाउनुपर्ने वा संकोच मान्नुपर्ने अवस्था पनि छैन । वरु गर्वका साथ लागु गर्नुपर्छ । माक्र्सवाद आफैमा विज्ञान हो भने त्यसमा समयानुकुल परिवर्तन स्वभाविक छ । अहिले नेपालको वस्तुस्थितिमा हामीले प्रयोग गरेको नीति कार्यक्रम जवज हो भने त्यसलाई अभिब्यक्त गर्न डराउनु पर्दैन । 
यो कुरा अर्कै हो कि मदन भण्डारीले पनि शान्तिपूर्ण आन्दोलनलाई निर्विकल्प रुपमा लिएका थिएनन् । तत्कालीन परिस्थितिमा ठोस अवस्थाको ठोस विष्लेषण गर्दै मदन भण्डारीले सो कुरा भनेका थिए । शायद शान्तिपूर्ण आन्दोलनको वाटो रोकिएको भए हिंसाको वाटो अवलम्वन गर्नुपर्ने थियो होला । तर मदन भण्डारीलाई त्यसमा पूरापूर विश्वास लागेर मात्र त्यो वाटोमा लागेको हुनु पर्छ । कार्यकर्ताको भावनालाई वुझेर पनि केही विकल्पहरु आएका थिए कि ? किनकि प्राय ः कार्यकर्ताहरु जवजलाई प्रयोगमा ल्याउँदा कम्युनिष्ट नभइने हो कि भन्ने डर पनि थियो ।
अन्तमा दुइवटा पार्टी मिलेर नयाँ पार्टी वनिरहेको सन्दर्भमा कुनै एउटा पार्टीले अवलम्वन गरेको नीति कार्यक्रमलाई जस्ताको तस्तै लागु गर्दा निश्चयनै आफू कमजोर भएको मनोविज्ञान अर्को पार्टीमा पर्दछ कि भन्ने आशंका अहिले देखिएको छ । पार्टी एकताका लागि दुवै तर्फका अध्यक्षहरुले ज्यादै ठूलो हिम्मत गरेर मात्र यो अवस्था उत्पन्न भएको छ । शुरुमा जेजस्तो भएपनि अव जवजमाथि सवैको अपनत्व छ । त्यो सामूहिक पूँजीको रुपमा स्थापित भएको छ । कुनैवेला पुष्पलाल कसैका लागि महान् क्रान्तिकारी र कसैका लागि महान् गद्घार थिए । तर प्रकारान्तरले उनी सवै कम्युनिष्टका लागि सच्चा अनुयायी वने । त्यसरीनै मदन भण्डारी पनि अव सवै कम्युनिष्टका लागि साझा नेता वनिसकेको अवस्था छ ।  

Related News