​८ डिआइजीले एकैपटक अवकाश पाउँदै

दृष्टि न्यूज

काठमाडौं, २६ असार। 
नेपाल प्रहरीका ८ डिआइजीसहित १० जना उच्च अधिकारीले बिहिबारदेखि अनिवार्य अवकाश पाउने भएका छन्। प्रहरीमा प्रशासनतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)का सबै पद रिक्त रहँदा बढुवाका प्रतिस्पर्धी रहेका प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरुले बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका हुन्। 
प्रहरीका रिक्त ३ एआइजी पदमा बढुवा लागि पवन खरेल, उत्तम कार्की, ज्ञानबिक्रम शाह, छविलाल जोशी र शरद चन्द पनि प्रतिस्पर्धामा थिए। ३० वर्षे सेवाहदका कारण उनीहरुले अवकाश पाउन लागेका हुन्।  
उनीहरुले बढुवामा भएको ढिलाई बारे सामूहिक रुपमा प्रहरी महानिरीक्षकदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफुहरुको दुःखेसो राखेका थिए। ‘सबैलाई भेट्यौं तर कसैले  पीडा बुझेनन्,’ एक डिआइजी भन्छन्,‘ सरकारले नै सुनियोजित र अन्यायपूर्ण ढंगले बढुवा नगरी अवकाश दिने प्रपञ्च गरियो।’ प्रहरीमा गत चैतदेखि नै एआइजीका सबै पद रिक्त थिए।
अब उनीहरुको बढुवा हुने सम्भावना छैन। एक हप्ताको लागि अवधि राखेर बढुवा सिफारिस गर्नुपर्ने हुन्छ। उनीहरुको जागिर अवधि २ दिनमात्र बाँकी रहेकाले बढुवा सम्भव नभएको हो।  
उनीहरुसँग अन्य तीन डिआइजी र २ एसएसपीले बुधबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। डिआइजीहरु श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्मा तथा एसएसपीहरु मोहनराज जोशी र सुन तस्करी प्रकरणमा जेलमा रहेका श्याम खत्री पनि अवकाश पाउन लागेका हुन्। 
उनीहरुको अवकाशपछि एआइजीका तीन पदको बढुवामा ५ डिआइजीबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशबिक्रम शाहबीच प्रतिस्पर्धा हुनेछ। 

Related News