​‘पोखरी हाइड्रो पावर कम्पनी’मा गोलमाल

दृष्टि न्यूज

काठमाडौं । सभा खोला जल विद्युत आयोजनाको निर्माणधिन ‘पोखरी हाइड्रो पावर कम्पनी प्रालि’ विवादित बनेको छ । कम्पनीको संस्थापक पक्षलाई जानकारी नगरी वर्तमान सञ्चालक समितिले मनोमानी सेयर बाँडफाड गरिएपछि विवादमा आएको हो ।
१५.१ मेगावाटको उक्त जल विद्युत आयोजनाका संस्थापक अध्यक्ष पदमबहादुर तामाङ हुन् । तर, तामाङ पछिका अध्यक्ष पासाङ शेर्पाले संस्थापनलाई जानकारी नदिइ सञ्चालक समिति हेरफेर गर्दै कम्पनीमाथि अनियमितता गरेका छन् । शेर्पाले पछिल्लो समय आयोजनाको अध्यक्ष कुमार केशर विष्टलाई बनाएका छन् । वर्तमान अध्यक्ष विष्टकै रोवहरमा कम्पनीमाथि हाल अनियमितता भइरहेको तामाङले बताए । 
‘पीपीए’समेत भइसकेको उक्त हाइड्रो पावरका संस्थापकहरुमा पूर्वअध्यक्ष तामाङका अलावा होमझक्त कुरुम्बाङ, कर्ण घले, मदनकुमार राई, नवराज श्रेष्ठलगायत छन् । तर, विष्ट अध्यक्ष भएपछि उनको सञ्चालक समितिले गैरकानुनी रुपमा कम्पनीमाथि मनपरी गरेको आरोप तामाङले लगाएका छन् । हाल अध्यक्ष विष्टका अलावा नविन गौली, ईश्वर रिमाल, काजी शेर्पा, पासाङ तामाङलगायत सञ्चालक समितिमा रहेका छन् । 
यो पछिल्लो सञ्चालक समितिले फर्जी कागजपत्र बनाइ कम्पनीको नामसमेत परिवर्तन गरेका छन् । साविक ‘पोखरी हाइड्रो पावर कम्पनी प्रालि’लाई ‘अर्बिट इनर्जी प्रालि’ बनाएको छ । 
यसरी कम्पनीको नाम परिवर्तन गर्दा प्यानमा फोटो मात्र परिवर्तन गरिएको पाइएको छ । कम्पनीको प्यानमा संस्थापक अध्यक्ष तामाङकै सम्पूर्ण डाटा रहेको छ । यसरी कम्पनीलाई बदनियतपूर्ण अगाडि बढाइएको बताउँदै पूर्वअध्यक्ष तामाङ काम अगाडि बढ्न नसक्ने बताए । उक्त हाइड्रो पावर कम्पनी २०६६ साल बैशाख ३० गते संख्ुवासभा जिल्लामा दर्ता भइ निर्माणाधिन अवस्थामा रहेको छ । तर, पछिल्लो समय संस्थापनपक्ष र वर्तमान सञ्चालक समितिबीच विवाद हुँदा उक्त हाइड्रो पावर कम्पनीको काम अगाडि बढ्न सकेको छैन । वर्तमान अध्यक्ष विष्टले कम्पनीमाथि फर्जी कार्य गरेको भन्दै संस्थापनपक्षले कम्पनीको कार्यलय त्रिपुरेश्वर, नेपाल विद्युत प्राधिकरण काठमाडौं र विद्युत विकासमा समेत दरखास्त गरेका छन् । 

Related News