​प्रचण्डद्वारा आइजिपी हटाउने चेतावनी

दृष्टि न्यूज

काठमाडौं, २८ कात्तिक । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी र सुरक्षा निकायको माथिल्लो तप्कालाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । सरकारलाई  मर्मअनुसार अघि नबढेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । 
 
म्याग्दी उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कर्मचारी तन्त्रले परिवर्तनको मर्मलाई बुझ्न नसकेको बताउँदै परिवर्तन स्विकार नगर्ने कर्मचारीहरुलाई तत्काल हटाउनुपर्ने बताए। ‘संसारमा जहाँ पनि राजनीतिक परिवर्तन पछि कर्मचारीको माथिल्लो तह हटाइन्छ’ उनले भने, यहाँ पनि कर्मचारी र सुरक्षा निकायको माथिल्लो तप्का नहटाएसम्म जनताले परिवर्तनको अनुभुति गर्न सक्ने अवस्था छैन।’
  कर्मचारीकै कारण सरकार असफल भएको नेकपाको निष्कर्ष छ । 

सरकारले स्थानीय तहमा खटाउन खोज्दा कर्मचारी जान नमानेको जिकिर गर्दै उनले ति कर्मचारीलाई हटाएर नयाँ भर्ना गर्नुपर्ने आवश्यकता पनि औँल्याए। राजनीतिक लडाईंबाट आएका नेताले कर्मचारीलाई बदलेर आफूजस्तै बनाउनुपर्ने ठाउँमा कर्मचारीले नै नेतालाई आफूजस्तै बनाउन खोजेको उनको आरोप छ। नेताहरु कर्मचारी जस्तै हुँदै गए परिवर्तन उल्टिने सम्भावना रहने उनले बताए। 
कर्मचारीले सरकारलाई असहयोग गरेको र प्रहरी नेतृत्वले पनि शान्ति सुरक्षामा सफलता पाएको छैन । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा भएको असफलताका कारण सरकार नै बदनाम भइरहेको छ । जसकारण आइजिपी सर्वेन्द्र खनालको समेत आलोचना भइरहेको छ । यही बेला प्रचण्डले उनलाई हटाउने समेतको चेतावनी दिएका छन् । 
यसअघि नेकपाकै युवा नेताहरुले आइजिपी खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका थिए । 

Related News