बक्सिङ रिङमै मृत्यु भएपछि थाइल्याण्डमा खैलाबैला !

दृष्टि न्यूज

बैंकक, (एजेन्सी) । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।

थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् । तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ ।
बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् । यी बाल खेलाडीले प्रायः टाउकामा सुरक्षा कवचसमेत लगाएका हुँदैनन् ।
अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधारसमेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खाल जस्तो हुने गर्दछ ।
अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो । विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुँइमा ढलेका थिए ।
स्मार्टफोनमा खिचिएको तस्बिरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ । अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको निधन भइसकेको थियो ।
प्रहरीका अनुसार, अनुचाको मृत्यु मस्तिष्कघातबाट भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यी बालक आठ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए । उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए । उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् ।
यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् । थाइल्यान्डमा १२ वर्षभन्दा मुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ । 

Related News