विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने « Drishti News – Nepalese News Portal
Logo

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका छन् ।

तर, यस बीचमा दीपावली, छठ लगायतका चाडपर्व परेका कारण कात्तिक अन्तिममा विश्वासको मत लिएर मंसिर पहिलो सातानै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।

कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गते बस्ने घोषणा गरेका थिए । तर, १७ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरि विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिटै विश्वासको मत लिने बताएका छन् । ‘छिट्टै विश्वासको मत लिएर मन्त्रिपरिषद विस्तार गर्ने र सरकार आफ्नो काममा क्रियाशील हुने भनिएको थियो तर, यस बीचमा छठ लगायतको पर्वले २३ गतेको बैठक स्थगित भयो,’ नेता घिमिरेले भने ‘अब ३० गते वा मंसिरको सुरुमै विश्वासको मत लिने भन्ने विषयमा छलफल गरी निर्णमा पुग्छौं ।’

उनले विश्वासको मत लिनुभन्दा दुई दिन अघिनै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले भोजपुरबाट मुख्यमन्त्री फर्किए लगतै विश्वासको मत लिने समयको बारेमा छलफल गरी टुंगो गर्ने जानकारी दिएका छन् । उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार लगायतका काममा सरकारले ध्यान केन्द्रीत गर्ने पनि बताए ।मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मुख्यमन्त्री भएकै दिन एकसात शफथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्