मुख्यमन्त्री शाहीद्वारा यातायात व्यवस्था कार्यालयको निरीक्षण « Drishti News – Nepalese News Portal
Logo

मुख्यमन्त्री शाहीद्वारा यातायात व्यवस्था कार्यालयको निरीक्षण


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे बुझेका थिए।

सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा रु १५ लाग्ने फारमलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने कामसमेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामलाई अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन् । उनले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसल तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्