गोकुल बास्कोटालाई गाउँपालिका अधिवेशन उद्घाटन गर्न हेलिकप्टरमा जाने पैसा कसले दियो ? « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

गोकुल बास्कोटालाई गाउँपालिका अधिवेशन उद्घाटन गर्न हेलिकप्टरमा जाने पैसा कसले दियो ?


दृष्टि संवाददाता


पनौती । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा एकाएक कार्तिक १३ गते शनिवार हेलिकप्टरमार्फत काभ्रेको खानीखोला गाउँपालिका पुगे । कार्यक्रम थियो, नेकपा एमाले खानिखोला गाउँपालिकाको प्रथम अधिवेशन ।

हेलिकप्टरबाट खानीखोला पुगेका बास्कोटाको प्रस्तुतीले आम काभ्रेली जनता तथा स्वयं आफ्नै कार्यकर्ताहरु समेत अचम्मित छन् ।

खानीखोला गाउँपालिकामा जानको लागि हेलिकप्टर प्रयोग गर्नै पर्ने बाध्यता के थियो ? त्यो त उनैलाई थाहा होला ।

त्यसो बास्कोटा एक्लै भने पुगेका थिएन् । सँगै, माओवादी पृष्ठभूमिका राजकुमार श्रेष्ठ, जिल्लाका नेता धरिना ढकाल र संविधानसभा सदस्य रामहरी सुवेदीसमेत हेलिकप्टर सवार थिए ।

पूर्व माओवादी कार्यकर्ताहरुलाई यसरी हेलिकप्टर सयर गराउनु त्यो पनि नेकपा माओवादीको पकड क्षेत्र जहाँ अन्य द्वन्द्वकालिन अवस्थामा प्रशिक्षणसमेत दिने गरेको थियो । सो स्थानमा निकै खर्चिलो र तामझाम देखाए ! यसले आम कार्यकर्ताहरुमा बास्कोटा कुन बिचारधारा र कुन सोचका हुन भन्ने कुराको देशैभर चर्चा चलेको छ ।

देशैभर एमालेका नेताहरुको स्वार्थ मिल्दा जुट्ने र फुट्ने प्रकृया चलिरहेको अवस्थामा एउटा प्रतिभा जो मिसन र भिजनसहितको नेता ठानेर निरन्तर साथ दिइरहेका कार्यकर्ताहरुको बिचारमा परिवर्तन आएको कुरा उनकै कार्यकर्ताले बताए ।

व्यक्तिगत स्वार्थमा होइन सर्वहारा वर्गको साथी भन्दै भाषणबाजी गर्ने नेता यसरी आम नागरिकको पहुँचभन्दा पर उठेको देखेर आफ्नै कार्यकर्ताले समेत आलोचना गर्न थालेका छन् ।

हेलिकप्टर संस्कृतिले साधारण नेतालाई कुन वर्गको रुपमा सम्बोधन गर्ने हो त्यो त आगामी चुनावले देखाउने छ । पार्टीको एउटा मध्यम स्तरको नेता हेलिकप्टर चढेर पालिका स्तरको अधिवेशन उद्घाटन गर्न सवार हुन्छ भने यसले निश्चित रुपका राजनीतिक वृत्तमा केही प्रश्न, केही जिज्ञासा र केही कौतुहलता निम्त्याएको देखिन्छ ।

नेपाली जनता त्यति बुद्धु कहाँ छन् र ? चिया पसलमा र भेलाहरुमा आलोचना गर्न थालिसके । यत्रो पैसा कसरी आयो ? यसको लागि कति खर्च हुन्छ ? यसको हिसाब कहाँ राखिन्छ ? यसको खर्च कसले ब्यहोर्छ ? ब्यक्तिले ब्यहोर्छ कि कमिटीले व्यहोर्छ ? अथवा कुनै तस्कर गिरोहले अपारदर्शी ढंगले व्यहोरेको छ ? भन्ने प्रश्नै प्रश्न आम नेपाली जनमा उब्जेको छ ।

आम कार्यकर्ता र जनताले प्रश्न गर्न थालेका छन्– के हाम्रा कम्युनिष्ट भनिने सर्वहारा कामदार वर्गको प्रतिनिधि पार्टीको हैसियत त्यो स्तरमा पुगिसकेको हो ? होइन भने आफूलाई गरिबको छोरो, रुक्खासुक्खा खाएर गाउँमा हुर्केको हुँ, ठाडो बोल्छु भन्ने नेताको ब्यक्तिगत हैसियत यहाँ कसरी पुग्यो होला र ? बहालवाला मन्त्री भएको भए राज्यको सम्पत्ति दुरुपयोग गरे कि भन्न पनि सकिन्थ्यो ! भ्रष्टाचार गरेर लुकाएको सम्पत्ति हुनु पर्यो कि, कुनै तस्करले फाइदा लिने दिने काममा यिनी मतियार त भइरहेका छैनन् ?

हिजोका दिन पञ्चायतीकालमा भूमिगत भएँर दुःख गरे ।उतिखेर ज्यान हत्केलामा थियो । संगठन गरें अब अध्यक्षका लागि योग्य भएँ । अहिले नेतृत्वको उच्च तहमा रहेका नेताको विलासीपूर्ण जीवनचर्या र रबाफ देख्दा कुन कुरालाई सत्य मान्ने ? बालुवाका जग्गा कहाँ गयो ? ओम्नी काण्ड गरेर करौडौं झ्वाम पार्ने कहाँ गयो ? चाइनिज बिमान काण्डका मतियार खोई ? अनुशासन र नैतिकता खोई ? खोई छानबिन ? खोई कारबाही ? कसलाइ सर्वहारा कामदार वर्गका मुक्तिदाता मान्ने ? भन्ने प्रश्नै प्रश्न आम कार्यकर्ता र जनमासमा उब्जेको छ ।

सरकारी कर्मचारी अवकाश भएको भोलिपल्ट टिकट पाउँछ र सांसद बन्छ । राजाको पछि लाग्ने सुन्दरी कलाकार सांसद बनाइन्छन् । एउटा बिदेशी एजेण्टलाई टिपेर अर्थ मन्त्री बनाइन्छ । बहालावाला मन्त्री खुलमखुला करौडौं घुसको मोलमोलाइ गर्छन् । फोरजी घोटाला गरिन्छ । रातीराती लैनचौर दिउँसो–दिउँसो देशभक्ति कस्तो बिडम्बना ? दलाल पूँजीपतिलाई टिपेर मन्त्री बनाइन्छ ।

सहकारीका नाममा जनता मार्ने जनता मारा ईच्छाराजहरुलाई संविधान सभा सदस्य बनाइन्छ । यस्तालाई जोगाउन बचाउन हरसम्भव पार्टीको फस्टम्यान लाग्छन् । दलाल पुँजिपति जो बिजुलीको पैसा तिर्दैन त्यसको घरमा लगेर पार्टी कार्यालय राखिन्छ । खुलमखुल्ला एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न मरिहत्य गरिन्छ । यसबाट देशको हित हुन्छ, रोजगारी सृजना हुन्छ, विकास हुन्छ भनेर डङ्क पिटिन्छ !

साम्राज्यवादले हामीलाई तहसनहस पार्ने कुरा लुकाइन्छ । रहस्य के हो ? कसको लागि काम गरिँदैछ ? कसको हित गरिँदैछ ? कम्युनिस्ट पार्टीको झण्डा र चिन्ह हल्लाएर, मिठा र चिप्ला कुरा केका लागि गर्दै छन् भनी आफ्नै कार्यकर्ताहरुले औंला उठाउन थालेका छन् ।

अब देशमा यस्ता कामदार वर्गको हित हुने वाला छैन अब कामदार वर्गले बुझ्न थालेका छन् । आफैं संगठित हुनुपर्छ । यिनीहरुका काला हर्कतहरुको भण्डाफोर गर्नुपर्छ र निर्मम संघर्ष गर्नु पर्छ यिनका भ्रम, आश्वासन र भाषणको भर होइन । आफ्नै विचार र बलमा उभिनुपर्छ ।

नेताहरुका गुलिया भाषणमा भुलेर शासनको बागडोर हातमा दिइयो भने शहीदहरुका आत्माले सराप्ने छन् । त्यसैले कामदार वर्ग आफैं चेतनशील, संगठित र नेतृत्वदायी बन्न थालेका छन् । शासन सत्तामा पुग्नुपर्छ र आफ्नो वर्गको लागि आफैं काम गर्नुपर्छ भनी आम कार्यकर्ता भेला हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्