एमाले प्रवेश गर्छु भन्दै निवास पुगेका गगन पुरीलाई ओलीले गेटबाट छिर्नै दिएनन् ! « Drishti News – Nepalese News Portal
Logo

एमाले प्रवेश गर्छु भन्दै निवास पुगेका गगन पुरीलाई ओलीले गेटबाट छिर्नै दिएनन् !


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवासमा आफ्ना मतदाता समक्ष डरलाग्दो अहंकार प्रदर्शन गरेका छन् । एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवास आएका झापा दमकका गगन पुरी लगायतलाई ओलीले भेट्न अस्वीकार मात्रै गरेनन् गेटबाट भित्र छिर्न समेत दिएनन् ।

गगन पुरी ओलीको गृह नगर दमक क्षेत्रका माओवादी नेता हुन् । उनी विगतमा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए ।

गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ ओली निवास पुगेका थिए । ओलीसँग भेट्ने प्रवन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए । भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए । भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता थिए ।

बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्ड भित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए । करिब एक घन्टा गगन पुरीको टोली गेट बाहिरै उभिएरका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएका थिएनन् । केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पुरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो ।

आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ ? भनेर गगन पुरीलाई सोधेको थियो । गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए । तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले ‘एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ’ भनेका थिए । गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घन्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई ‘एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु’ भन्नुभएको छ भने ।

ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।

गगनको टोली बालकोट निवासमा रहेको बेला दर्जनौं व्यक्ति भित्रबाहिर गरिरहेका थिए । दर्जनौंले ओलीलाई भेटेका थिए । आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको यस्तो उपेक्षा नयाँ होइन । प्रधानमन्त्री भएको बेला पनि ओलीले आफ्नो क्षेत्रका मतदातालाई भेट्दैन थिए ।

आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको उपेक्षा देख्नेहरुका अनुसार आउँदो चुनाव ओलीले प्रत्यक्षमा नलडेर समानुपातिकबाट लड्ने अनुमान गर्न थालेका छन् ।

तर, पुरीले भने आफू एमाले प्रवेश गर्न भन्दै ओली निवास पुगेको भन्ने हल्ला गलत रहेको बताएका छन् । दृष्टिन्यूजसँग कुरा गर्दै पुरीले भने– ‘समाचारमा आएका कुराहरु गलत हुन् । म ओली निवास गएको छैन । एमालेले प्रवेश गर्ने कुरा हुनै सक्दैन । केपी ओली नेतृत्वमा रहेसम्म एमालेमा प्रवेश गर्ने कुरा कल्पना पनि गर्न सकिन्न । संचार माध्यममा आएका हल्लाहरु खण्डन गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्