Logo

तीन डिआइजीको सेटिङमा गोरु तस्करी


दृष्टि संवाददाता


काठमाडौं, ४ फागुन । देशको राजनीतिमा संक्रमण आउँदा सबैभन्दा ठूलो फाइदा तस्कर र भूमाफियालाई हुने गर्दछ । अहिले पनि त्यस्तै भएको छ । राजनीतिक तरलताको फाइदा उठाउँदै अवैध धन्दाहरु फस्टाउन थालेका छन् ।

तराईमा सुरु भएको गोरु तस्करी त्यसैको एउटा उदाहरण हो । प्रहरीको उच्च तहसम्म सेटिङ मिलाएर नेपालबाट भारत हुँदै बंगलादेशमा गोरु तस्करी हुँदै आएको छ ।गत बुधबार राति मोरङमा गोरु लोड गरिएका तीन वटा ट्रक बरामद भएपछि तस्करीको रहस्य खुलेको हो । प्रहरी सक्रियताले होइन तस्करहरुबीचको विवादले यो तस्करको राज खुलेको हो ।

तस्करीमा संलग्न समूहबीच आर्थिक लेनदेनको विवाद भएपछि एक समूहले राजमार्गमा ट्रक रोकेर प्रहरीलाई खबर गरेको थियो । त्यसपछि मोरङ प्रहरीले ट्रक समाउन बाध्य भएको थियो । प्रारम्भिक अनुसन्धानमा ती ट्रक दाङबाट लगिएको खुलेको छ । त्यसरी उनीहरुले पटक पटक ट्रकमा गोरु तस्करी गरिसकेका थिए । यसरी गोरु तस्करीका लागि लागि कम्तीमा पाँच डिआइजीको सेटिङको आशंका गरिएको छ ।

लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुक त प्रदेशमा गएलगत्तै तस्करहरुसँग उठबस सुरु भएको थियो । धेरै जसो गोरु लुम्बिनी प्रदेशमा संकलन गरी झापा हुँदै भारत लैजाने गरिएको छ । लुम्बिनी प्रदेशबाट पूर्वी नवलपरासी, चितवन हुँदै प्रदेश नम्बर २ बाट प्रदेश नम्बर एक हुँदै भारत लगिने गरिएको छ । पूर्वी नवलपरासी गण्डकी प्रदेशमा तथा चितवन बाग्मती प्रदेशमा पर्छ । गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याल तथा बाग्मतीमा बसन्त लामा छन् । तस्करीमा जिल्लाका एसपीको मात्र हो कि उनीहरुको मिलेमतो खुुल्न सकेको छैन । लुम्बिनी प्रदेशका धानुक, २ नम्बर प्रदेशका धिरजप्रताप सिंह तथा प्रदेश नम्बर १ का ईश्वरबाबु कार्कीसँग भने सेटिङ मिलाएको स्रोत बताउँछ । एक ट्रक गोरु तस्करीमा लाखौं कमाई हुने भएकाले प्रहरी पनि यसको पैसामा लोभिने गरेको छ । जसकारण तराईका प्रहरी हाकिमको यस्तो तस्करी ठूलो आम्दानी हुँदै आएको छ । पक्राउ परेपनि ठूलो कारबाही नहुने भएकाले तस्करहरुले बंगलादेशसम्म सेटिङ मिलाएर यस्तो तस्करी गर्दै आएका छन् । गृह मन्त्रालयले प्रदेशका डिआइजीको सरुवाको तयारी गरिरहेकाले पनि उनीहरु यतिबेला कमाउ अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्