Logo

लक्ष्मी बैंकले सुरु गर्यो स्मार्ट फोनलोन सेवा


दृष्टि संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले एफ् वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोनलोन एक कर्जा–रुपी–सेवा हो । जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एप बाटै अधिकतम रु. दुई लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ । यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितोबिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्