Logo

अन्तिम इच्छा के छ ?


शम्भु श्रेष्ठ


२०७४ साल फागुन ३ गते दुईतिहाइ मतसहित प्रधानमन्त्रीमा नियुक्ति भएका केपी शर्मा ओली संसद् विघटन भएपछि घर न घाटका भएका छन् । संसद् विघटन भएपछि उनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ ।

विभाजित नेकपामा उनको ४० प्रतिशत पनि बहुमत छैन भने, संसदीय दलमा पनि उनी अल्पमतमा परेका छन् । र, भन्दैछन्, ‘दुईतिहाइ बहुमत ल्याउन संसद् विघटन गरेको हुँ ।’

दुईतिहाइ मत त उनीसँग छँदै थियो, फेरि दुईतिहाइ मत ल्याउन संसद् विघटन गरेको हुँ भनेर कसले पत्याउने ? प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आमसभामार्फत यस्तो झुठो कुरा बोल्नु हुन्न ।

जनताका अगाडि सत्य बोल्दा मात्र नेताबाट राजनेता भइन्छ । जनतालाई ढाँट्दै हिँड्दा ‘लाजनेता’ बनिन्छ भन्ने कुरा नेताहरुले बुझ्नुपर्छ । यही कुरा नबुझ्दा कतिपय नेताहरु जिउँदै मरिरहेका छन् । कतिपय मरेर पनि जनताको मन मस्तिष्कमा अझै बाँचेका छन् ।


माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दा प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतालाई जोड दिँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’का लागि मत मागेका थिए । यो कुरा नेपाली जनताले पत्याएर गठबन्धन पार्टीलाई दुईतिहाइ मत दिएका थिए ।

आजभन्दा तीन वर्ष अगाडि प्रधानमन्त्री भइसकेपछि उनी आफैँले ठाउँठाउँमा भाषण गर्दा– ‘अब कसैले सडकमा राजनीतिक मागलाई लिएर आन्दोलन गर्नु पर्दैन, हामीले राजनीतिक स्थिरताको बाटो समाइसकेका छौं, अब आर्थिक समृद्धितिर हामी लाग्नुपर्छ भनेका थिए ।’

आर्थिक समृद्धिको कुरा गर्दै पूर्वपश्चिम रेल कुदाउने, पाँच लाख युवालाई रोजगार दिने, दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने, केरुङ–काठमाडौं, पोखरादेखि लुम्विनीसम्म चिनियाँ रेल कुदाउने भनेर यही मुखले बोलेका थिए ।

उनले नेपालमा पानीजहाज कार्यालयको उद्घाटन गर्दा सामाजिक सञ्जालले व्यंग्य गरेको घटनालाई गम्भीरतापूर्वक लिँदै गत पुसमै पानीजहाजको टिकट काउन्टर खोल्ने बताएका थिए । ती कुराहरु के भए, हिजोको सम्बोधन भाषणमा आएन । अब राजनीतिक मागलाई लिएर आन्दोलन गर्नुपर्दैन भन्ने त्यही मुखले आज सडकमा उत्रिएर तमाशा देखाइरहेको छ ।

हिजो फागुन ३ गते ओली प्रधानमन्त्री भएको तीन वर्ष भयो । तीन वर्षमा उनले जनतासामु गरेका कति प्रतिबद्धता पूरा गरे भन्ने कुरा जनतालाई बुझाउन सकेनन् । हिजो गरेका प्रतिबद्धता उनले भुले ।

फेरि नेहेर्याएर सिंहदरबार प्रवेश गर्न नपाइने हो कि भन्ने चिन्ताले उनलाई सतायो र हिजो उनले सिंहदरबारमा प्रधानमन्त्री कार्यालय उद्घाटन गरेर आफ्नो नाम शिलाखेलमा टाँसे । देशैभरि केबुलकारदेखि शौचालयसम्म नाम टाँस्ने क्रम जारी छ ।

मानौं, उनले जति विकास यो देशमा राजा महेन्द्रले पनि गरेका थिएनन् । अब उनले धरहरामा आफ्नो नाम टाँस्ने छन् । त्यसपछि नवनिर्मित संसद् भवनमा उनको नाम टाँस्ने इच्छा छ । उनको यो पछिल्लो हर्कतले उनी आफैँसँग हारिसकेका छन् भन्ने देखिन्छ ।

नभए, हतास मनस्थितिमा कसैले पनि अर्काले बनाएको ऐतिहासिक धरोहरमा आफ्नो नाम टाँस्ने रहर गर्दैन । संसद विघटन गरेर सत्ताका लागि अन्तिम यात्रा तय गरेका नेपाली जनताले अब उनलाई सोध्ने बेला आएको छ– तिम्रो अन्तिम इच्छा के छ ?

प्रतिक्रिया दिनुहोस्