Logo

शिक्षा क्षेत्रको सुधारका लागि सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल


दृष्टि संवाददाता


काठमाडौं, ४ फागुन । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक तथा अभिभावकको सामूहिक प्रयास आवश्यकता औंल्याएका छन् ।

हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै उनले शिक्षकले पढाउनु र सिकाउनुको भेद छुट््याउन आवश्यक रहेको बताए ।

विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहेका मुख्यमन्त्री पौडेलले प्रभावकारी शिक्षण विधिको प्रयोग गरेर विद्यार्थीलाई बढीभन्दा बढी सिकाउनुपर्नेमा जोड दिए ।

“एक्काइसौँ शताब्दीको आवश्यकताअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आजको आवश्यकता रहेको छ”, उनले भने ।

पौडेलले स्तरीय शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकार भएकाले शिक्षकले विशेष ध्यान दिनुपर्ने बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी क्षति भएको विद्यालयको तीन तले भवन जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको हो ।

रु तीन करोड ५४ लाखको लागतमा सो भवन निर्माण भएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए ।

यसैबीच, उक्त विद्यालयलाई वाग्मती प्रदेश सरकारले रु ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्