Logo

बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वासको प्रस्तावमा छलफल


दृष्टि संवाददाता


हेटौंडा, ५ फागुन । बागमती प्रदेश सभाको आज बोलाइएको बैठकमा मुख्यमन्त्री विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा छलफल हुने भएको छ । दिउँसो दुईबजे बस्ने बैठकमा नेकपाल प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्तावमा दलगत धारणा राख्ने तयारी रहेको छ ।

 

माघ ९ गते अविश्वासको प्रस्ताव टेबल भएपनि सभामुख सानुकुमार श्रेष्ठले बैठक नबोलाउँदा अझै टुंगो लाग्न नसकेको हो । आज बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएपछि प्रचण्ड–माधव समूहले संसद घर्ने चेतावनी दिंदै नारावाजी गरेका थिए ।

बल्ल सभामुख श्रेष्ठले दिउँसो २ बजे बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेलले अविश्वास प्रस्तावको सामना गर्नुको साटो बैठक रोक्ने कोसिस गर्दै आएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

बागमती प्रदेशसभामा नेकपाका ८० प्रदेशसभा सदस्य छन् । यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र १ सदस्य छन् ।

प्रदेशसभाका कूल ११० सदस्यमध्ये मुख्यमन्त्री पौडेललाई सरकार जोगाउन कम्तिमा ५६ सांसदको साथ चाहिन्छ । तर उनीसँग हाल ३५ सदस्यमात्र छन् ।

यसैगरी प्रचण्ड–माधव समूहसँग ४५ सांसद छन् । विश्वास प्रस्ताव पास गराउन सो समूहलाई थप ११ सांसदको साथ आवश्यक छ । यसका लागि कांग्रेसले साथ दिनुपर्ने हुन्छ । कांग्रेस अहिले मौन बसेको छ ।

प्रतिक्रिया दिनुहोस्
molmac.p3.gov.np