Logo

पदमकन्या क्याम्पसमा प्रमुख नियुक्ति प्रकरणः संविधानकै उपहास गरिएको प्राध्यापकदेखि विद्यार्थी नेताहरुको आरोप


Published On : 14 March, 2019

काठमाडौं, ३० फागुन । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर, महिलाले संविधानले दिएको अधिकार नपाएको गुनासो प्राध्यापक कल्पना श्रेष्ठको छ । पदमकन्या क्याम्पसमा योग्यता र मापदण्ड पुगेका महिला प्राध्यापकलाई क्याम्पस प्रमुख नबनाउने षडयन्त्र भइरहेकोमा प्राडा श्रेष्ठले आपत्ति जनाइन् ।

कार्यक्रममा बोल्दै प्राध्यापक विमला नेपाल


पदमकन्या क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै आन्दोलन गर्दैआएका विद्यार्थी संगठनदेखि कर्मचारी र प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई पटक पटक ध्यानाकर्षण गराए । ज्ञापनपत्र दिए । तर उपकुलपति खनियाँले बेवास्ता गर्दैआए । योग्यता र मापदण्ड पुगेका महिला प्राध्यापक हुँदाहूँदै विभिन्न विवादमा मुछिएकालाई विरोधका बाबजुद जबर्जस्ती नियुक्ति गर्न खोजेपछि विद्यार्थी नेताहरु र कर्मचारीले त्रि.वि.मा तालाबन्दी गरेका छन् । बिहीबार पदमकन्या क्याम्पसमा पनि तालाबन्दी गरिएको छ । संविधानमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व राज्यका हरेक क्षेत्रमा गराउनुपर्ने ब्यवस्था भए पनि त्रि.वि.जस्तो बौद्धिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयमा संविधानअनुसार गर्न नसकिने ओेठे जवाफ उपकुलपति खनियाँले दिएको गुनासो प्राध्यापक तथा विद्यार्थी नेतृहरुले गरेका छन् ।

महिला क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै आन्दोलित विद्यार्थी तथा प्राध्यापकद्वारा बिहीबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा प्राडा. कल्पना श्रेष्ठको भनाइ थियो–बौद्धिक बर्ग उत्पादन गर्ने महिलामात्र अध्ययन गर्ने क्याम्पसमा समेत योग्यता र मापदण्ड पुगेका महिला प्राध्यापकलाई क्याम्पस प्रमुख बनाउन त्रिवि चाहँदैन भने संविधानमा मात्र उल्लेख गरेर मात्र अधिकार पाइँदैन रहेछ भन्ने पुष्टी भएको छ । त्रिविका उपकुलपति नै महिलालाई संविधानले दिएको अधिकार नदिने पक्षमा भएकाले अब आन्दोलन गर्नुको विकल्प छैन ।

कार्यक्रममा प्राध्यापक विमला नेपालले संविधानले महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर त्रिविका उपकुपति क्याम्पस प्रमुखमा प्रस्तावित ३ प्राध्यापक मध्ये योग्यता र मापदण्ड सबैभन्दा अब्बल महिला प्राध्यापकलाई कुनै हालतमा नियुक्त नगर्ने पक्षमा छन् । प्राध्यापक नेपालको उपकुलपति खनियाँलाई प्रश्न छ–‘समान योग्यता, समान लगानी तर अवसरमा किन महिलामाथि विभेद गरिन्छ ?’ उनले भनिन्–‘पुरुष भन्दा योग्यता र क्षमतामा अझ अब्बल महिलालाई अवसर दिने सवालमा त्रिविका उपकुलपति खनियाँले देखाएको अनुदार रबैयालाई सहेर बस्नुहुँदैन । यदि अहिले सहने हो भने हामीले पढाएका छात्राहरुले पनि त्यो विभेद भोग्नुपर्नेछ । संविधानका पानामा अधिकार लेखेर मात्र पाइदोरहेनछ, ती अधिकार लिनका लागि लड्नुपर्ने रहेछ, लड्नका लागि तयार रहनुहोस् ।

‘हामीले ४ महिनादेखि महिला क्याम्पस प्रमुख नियुक्त गर्न माग गर्दैआएका छौं, ज्ञापनपत्र, धर्ना, हस्ताक्षर बुझाउने गर्यौं । तर नसुनेपछि तालाबन्दी गर्नुपरेको छ । अब पनि सुनिएन भने हामी आमरण अनसन नै बस्नेछौं । तर अधिकार नलिई छाड्नेछैनौं । त्रिविका आंगिक क्याम्पसमा महिला कुनैमा पनि महिला क्याम्पस प्रमुख छैनन् । योग्यता र क्षमता नपुगेको भए सहन सकिन्थ्यो । तर योग्यता र क्षमता पुगेका महिलालाई अवसरमा किन विभेद गरिंदैछ ?’ नेपालको प्रश्न थियो । कार्यक्रममा प्राडा मनसा थापा ठकुराठी र नेविसंघ नेतृ तुलसा पन्तले महिला क्याम्पस प्रमुख नबनाएसम्म आन्दोलनबाट बिश्राम नलिने बताएका थिए ।

कार्यक्रममा बोल्दै विद्यार्थी नेतृ तुलसा पन्त

त्रिविका उपकुलपति खनियाँले क्याम्पस प्रमुखका लागि गठन गरेको सर्च कमिटीले महिला प्राध्यापकलाई योग्य र क्षमतावान हुँदाहुँदै तेस्रो नम्बरमा सिफारिस गरेकोमा पनि प्राध्यापक नेपाल र श्रेष्ठले आपत्ति जनाएका थिए । पुरुष २ जनाको नाम अगाडि राखेर महिलाको नाम तेस्रो नम्बरमा राखी विभेदको पराकाष्टा नै देखाइएको छ । सिफारिसमा परेका महिला प्राध्यापक पीएचडी गरेको र योग्यतामा पुरुषभन्दा अब्बल रहेको भए पनि त्रिविले गठन गरेको सर्च कमिटीले विभेदपूर्ण ढंगले उनको नाम तेस्रो नम्बरमा राखेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्