Logo
Logo

महिला नेतृत्व विकासको प्रयास


4.9k
Shares

महिलाहरु पनि नेतृत्व तहमा पुग्नुपर्ने कुरा जोडदाररूपमा अगाडि बढाएपछि पार्टीले पनि त्यसमा राम्रै पहल लिन थाल्यो ।

प्रशिक्षणका निम्ति ६ जना महिला कार्यकर्ताको छनोट भयो । तीमध्येकै कसैले पछिसम्म आफ्नो काममा निरन्तरता दिए कसैले दिन सकेनन् । ६ जनामा शारदा कोइराला अहिले संसारमा हुनुहुन्न । स्वस्ती दूर देशमा छन्, परिवारसँगै ।

त्यो बेला महिलाको सैद्धान्तिकस्तर उकास्ने यो पहलका निम्ति उपयुक्त ठाउँ खोज्दै थिएँ, सबैलाई मिल्ने समय र ठाउँ मिलाउन । हप्तामा दुईपल्ट साँझका निम्ति उपयुक्त सुरक्षित ठाउँ मिलाउनुपर्ने थियो । कसैको आँखा नपरेको, शंका गर्न नसकिने ठाउँ हुनुपथ्र्याे ।

मेरो ठूली दिदी सुदर्शनाले त्यो बेला आफ्नो तर्फबाट ठूलै सहयोग गर्नुभएको हो । उहाँको आफ्नै कोठामा बहिनी, बहिनीका पाँच साथीहरू र प्रशिक्षकसमेतको निम्ति सात जना बस्ने ठाउँ मिलाइदिनुभयो ।

कोठा धेरै ठूलो थिएन । दिदीको अवस्था पनि सजिलो थिएन–संयुक्त परिवारका बुहारी, श्रीमान् अमेरिकामा पढ्दै गरेको, एक्लै अनेक बुहार्तन र कठिनाइ भोगिरहेका मेरो दिदी ! तर पनि दिदीले मेरो जिम्मेवारीका निम्ति यसरी ठाउँ दिन सक्नु ठूलै आँट थियो ।

प्रशिक्षक को होलान्, कस्ता होलान् भन्ने जिज्ञासा थियो । प्रशिक्षक भनेर रघुजीले एकजना युवा चिनाउनु भयो । हाम्रो प्रशिक्षक भएर आउने ती मान्छेलाई देख्दा म छक्क परेँ– मैले भर्खरै अस्पतालमा भेटेको उनै युवा डाक्टर पो रहेछन् !

ठमेलको त्यो दिदीको घर आफैँ भने कुनै पनि राजनीतिक विचारले प्रभावित नभएको व्यापारी मध्यमवर्गीयहरूको घर थियो । हामी ६ जनालाई नै पायक पथ्र्यो ।

प्रशिक्षक को होलान्, कस्ता होलान् भन्ने जिज्ञासा थियो । तोकिएको दिन ती प्रशिक्षकसँग चिनजानका निम्ति भनेर रघुजीले एकजना युवा हामीलाई चिनाउन ल्याइदिनुभयो । हाम्रो प्रशिक्षक भएर आउने ती मान्छेलाई देख्दा म छक्क परेँ– मैले भर्खरै जस्तो अस्पतालमा भेटेको उनै युवा डाक्टर पो रहेछन् !

रघुजीलाई त हामी प्रायः सबैले चिनेका थियौँ, ती प्रशिक्षकलाई चिन्ने भने मबाहेक अर्को एक जना साथी रवि चित्रकार मात्र थिइन् । पहिल्यै थाहा भएर होला, उनी छक्क परिनन् ।

त्यो बेलाको भूमिगत पद्धतिमा सबै परिचय खुल्दैनथियो । देख्ना साथ ‘ए, तपाईं… !’ भन्न आएछ मेरो मुखबाट । त्यो दिनको परिचय कार्यक्रममा सबैका अर्कै–अर्कै नाम थिए । उनको नाम भने– डिबी कामरेड थियो ! हामीले पनि आफूलाई भूमिगत नामबाटै चिनायौँ ।

पार्टीमा महिला सशक्तीकरणको निम्ति ठूलै छलफल र योजना भइरहेको बेला थियो । महिलालक्षित पत्रिकाको पनि आवश्यकता महसुस गरेर अर्ध भूमिगतरूपमा ‘महिला मुक्ति’ नामक पत्रिका निकाल्ने तय भएको थियो । त्यसको मूल जिम्मा रविको थियो । बाहिर दर्ता पनि गर्नुपर्ने भएकाले सम्पादकमा उत्तरा कोइरालाको नाम राखिएको थियो, उनी पनि त्यो बेलाका एक सक्रिय र सहयोगी कार्यकर्ता नै थिइन् ।

पत्रिकाका निम्ति विभिन्न महिला पुरुष लेखकका लेख कविता संकलन हुँदै गर्दा रविले संकलनमा आएका केही सामग्री देखाएका थिए । तीमध्ये एउटा कविता साह्रै राम्रो हस्ताक्षरमा लेखिएको थियो– ‘जेल परेकी बहिनी’ शीर्षकमा ।

शीर्षक र अक्षरले नै मेरो आँखा तानिसकेको थियो । कविता मनपर्ने भएर तुरुन्तै पढ्न थालेँ । कविता मार्मिक थियो । अरु लेख कविताहरू पनि राम्रा थिए । तर किन हो– यो ‘जेल परेकी बहिनी’ले मलाई असाध्य मनमा प्रभाव पार्यो ।

समकालीन महिलाको व्यथा समेटेको कविता थियो त्यो । लेखक त पुरुष नै थियो– भाषा भावले नै अनुमान गर्न सकिन्थ्यो । तर भावुक र नारी हृदयलाई चिनेको मान्छेले लेखेको भन्ने स्पष्ट हुन्थयो ।

उत्सुकता जाग्यो– को कवि होलान् भन्ने । त्यहाँ कविको नाम लेखिएको थियो– ‘जीवन’ । अर्धभूमिगत पत्रिका भएकाले लेखकका नाम पनि प्रायः छद्म हुन्थे । खुला लेखकहरूका नाम मात्र साँच्चैका हुन्थे ।

मेरो मनमा खुल्दुली उत्पन्न भयो– त्यो कवि को होला ? कुन उमेरको होला ? तर सोध्न मिल्ने कुरा थिएन । कवितामात्र सम्झिरहेँ । त्यसबेला म आफैँ कविता लेख्न छोडेर बसेको भए पनि कविताहरुप्रति विशेष मोह थियो । राम्रो कविता पाए स्वाद लिइलिई पढ्थेँ, लयात्मक भए गीतै बनाएर गुनगुनाउँथेँ पनि । आफ्नै कविताको संग्रह इनारमा खसेको दुःख त्याग्न पनि अझै सकेको थिइनँ ।

त्यही पत्रिकामा मेरो पनि एउटा लेख थियो– प्रेम र विवाहबारे हामी युवा क्रान्तिकारीको कस्तो दृष्टि हुनुपर्छ भन्नेबारे । विवाहबारे आफ्नो संघर्षलाई बिर्सिन सकेको थिइनँ । त्यो लेखमा मेरो नाम भने ‘शीला’ राखेको थिएँ । विभिन्न ठाउँमा नाम पनि फरक–फरक नै हुन्थ्यो हाम्रो ।

किशोरावस्थामै विवाहको निम्ति संघर्ष गर्नुपरेकाले, त्यो आघातले अझै छोडेको थिएन । अरू महिला कामरेडहरूको निम्ति पनि यस सम्बन्धमा एउटा स्पष्ट धारणा बनोस् भनेर नै विवाह कस्तो हुनुपर्छ भन्ने कुरामा लेखिएको वैचारिक लेख थियो त्यो ।

महिलाहर मात्र होइन, पुरुषहरूको निम्ति पनि काम लाग्ने नै भयो त्यो लेख । नयाँ पार्टीमा हामी मात्र होइन, पुरूष नेताहरू पनि प्रायः अविवाहित नै थिए त्यो बेलासम्म । सिपीबाहेक अरू धेरैजसो मुख्य नेताहरू अविवाहित नै थिए ।

केन्द्रबाट नै हाम्रो सम्पर्कमा भएका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र अरू पनि अविवाहित नै थिए । केपी ओली त अझै जेलमै थिए । केपीसँगै अरू केही नेताहरू– राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी आदि पनि जेलमै थिए ।

हामी भाइटीकाको नाममा होस् वा दशैँको टीकाको नाममा जेलमै भेट्न जान्थ्यौँ– महिलाहरूको एउटा समूह नै । यस्ता भेटघाटका निम्ति नख्खु जेल जाँदा धेरै राजबन्दीहरूको बीचमा एकपल्ट मैले पनि जनवादी गीत सुनाएको कुरा याद छ मलाई ।

जेल जीवन सजिलो थिएन । जेल परेका कामरेडहरूलाई कसरी बाहिर ल्याउनेदेखि लिएर जेलजीवनलाई अलि सजिलो बनाइदिने कसरी भनी बाहिर बसेकाहरू लागेका थियौँ । काठमाडौँकै कार्यकर्ताहरुको भागमा पथ्र्यो त्यो जिम्मा पनि । मेरी दिदी पद्माले त झन् धेरै नै सहयोग गर्नुहुन्थ्यो– जेलपरेका कामरेडहरूको निम्ति कपडासमेत आफैँ सिलाइ लगिदिनुहुन्थ्यो ।

जेल पर्ने कामरेडका आफन्त, घर सबै कता हो कता टाढा भएको बेलाको कुरा हो यो । अब त यो कुरा उठाउँदा पनि बिर्सिसकेको कुरा किन सम्झायो भन्ने मनमा होला सबैलाई । समय परिस्थिति सधैँ एकनास हुँदैन ।

केही पछि ‘महिला मुक्ति’ सामयिक संकलन पनि निस्क्यो । राम्रा कवि र लेखकका रचना समावेश भएको स्तरीय संकलन बनेको थियो त्यो । तर ‘जीवन’ नामको त्यो कविलाई भने म खोजी नै रहेँ । मेरो अनुमानमा त्यो कवि भावुकमात्र नभएर नारी हृदयलाई पनि पक्कै बुझ्ने खालको हुनुपर्छ भन्ने थियो । तर कसैलाई सोध्न सकिन…

प्रतिक्रिया दिनुहोस्