Logo
Logo

यस्ता छन् महँगा सम्बन्धविच्छेदहरु



गाली र ताली एकसाथ पाइरहने सेलिब्रेटीमध्येमा पर्छन्, राजेशपायल राई । सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल बेलाबेला चर्चासँगै केही विवादमा छन् । तर, गाली र ताली दुवै उनी पचाउँछन् । जसरी, अहिले पचाइरहेक छन् ।

विवादका बावजुद पनि उनी चर्चामा आइरहन्छन् । हालै साङबुङ राईसँग सम्बन्धविच्छेदको खबर बाहिरिएपछि राजेशपायलमाथि प्रश्न उठेको छ– ‘विवाह नै नगरी कसरी सम्बन्धविच्छेद ?’ हुन पनि राजेशपायलले आफूलाई कहिल्यै विवाहित बताएनन् । त्यो आवश्यक थिएन पनि । किनकि, प्रेम र विवाह निजी कुरा हुन् ।

तर, साङबुङसँगको सम्बन्धलाई गोप्य राख्दा उनी बेलाबेला गसिप बन्थे । अहिले पनि उनी गसिपमा छाइरहेका छन् । राजेशपायल र साङबुङबीच कानुनीरुपमा सम्बन्धविच्छेद भइसकेको छ । तर, चर्चा सेलाएको छैन ।

मिडियामा आएका समाचारहरुका अनुसार उनीहरु राजीखुसीले अलग भएका हुन् । तर, यतिखेर राजेशपायलमाथि अर्को पनि प्रश्न उठेको छ, ‘साङबुङसँगको सम्बन्ध किन लुकाए र किन अलग भए ?’ यो प्रश्नको उत्तर खोजिरहनु पर्दैन । किनकि, साङबुङसँगको सम्बन्ध लुकाउन नै ‘यो सम्बन्ध टिक्दैन’ भन्ने थियो ।

अर्कोकुरा, राजेशपायलको ‘महँगो सम्बन्धविच्छेद गरे’ भन्ने चर्चामा छ । राजेशपायलले सम्बन्धविच्छेद गर्दा सायालाई घर, जग्गा, नगद गरी साढे ६ करोड रुपैयाँभन्दा बढी तिरेको मिडियामा चर्चा गरिँदैछ । तर, यसबारे राजेशपायलले स्वयमले भने पुष्टि गरेका छैनन् ।

साङबुङसँग करोडौँमा सम्बन्धविच्छेद गरेका राजेशपायलले तारिफ पनि पाइरहेका छन् । किनभने, सम्बन्धविच्छेद गर्दा आफूलाई गायनमा जस्तै दिलदार देखाए । राजेशपायल गायन क्षेत्रमा मनकारी र दयालु गायकका रुपमा चिनिन्छन् । उनी सामाजिक कार्य पनि गर्छन् । र, नवोदित कलाकारलाई हौसला दिएर अगाडि बढाउन चाहन्छन् । हालसम्म थुप्रै प्रतिभालाई आफूसँग गाउन अवसर दिएर चर्चामा ल्याइसकेका छन् ।

त्यसो त सेलिब्रेटीको सम्बन्धविच्छेदको सूची निकै लामो छ । तर, करोडौँ सम्पती दिएर सम्बन्धविच्छेद गर्ने पहिलो राजेशपायल राई नेपाली सेलिब्रेटी बनेका छन् । सम्बन्ध जोड्ने र विच्छेद गर्नेहरुका लागि भने यो कल्पनाबाहिर पर्छ । तर, हलिउड र बलिउड भने यस्ता सेलिब्रेटी छन्, जसले करोडौ तिरेर अलग भएकाका उदाहरण प्रसस्त छ ।

बलिउडको महँगो सम्बन्धविच्छेद

प्रभु देवा र रामलता

सन् १९९५ मा विवाह गरेका यी जोडीको २०११ मा सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदमा प्रभु देवाले रामलतालाई भारतीय २५ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । जबकि, त्यो समयको २५ लाख भनेको अहिले दुई सय करोड बराबर हो ।

सैफअली र अमृता सिंह

सन् १९९१ मा विवाह गरेका अभिनेता सैफअली खान र अमृता सिंहको विवाह भएको करिब ३ वर्षपछि सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद गर्दा सैफले अमृतालाई ५ करोडका साथै आफ्नो आधा सम्पति दिनुपरेको थियो । करिब २५ वर्षअघिको त्यो अवस्थामा ५ करोडको मूल्य कति थियो होला ।

ऋतिक रोशन र सुजैन

सन् २००० मा विवाह भएका अभिनेता ऋतिक र सजैनको २०१४ मा सम्बन्धविच्छेद भयो । यी दुईको सम्बन्धविच्छेद हुँदा सुजैनले ४०० करोड भारतीय रुपैयाँ माग गरेकी थिइन् । चार सय करोड नदिएपनि ऋतिक रोशनले सुजैनलाई मोटो रकम तिर्नुपरेको थियो ।

हलिउडको सम्बन्धविच्छेद

संसारकै ठूलो फिल्म उद्योग हलिउडका कलाकारको निजी जीवन बाहिर सोचेजस्तो छैन । हलिउड स्टारहरु सम्बन्धका कारण विवाद र चर्चामा आइरहेका हुन्छन् । हलिउड सेलिब्रेटीका प्रेम, विवाह र जीवनशैली स्क्रिनमा देखाइने फिल्मभन्दा कम छैन ।

स्टीवन स्पिलबर्ग–एमी इरभिङ

हलिउडका चर्चित स्टारमध्येका एक स्टिभन स्पिलबर्गले एमी इरभिङसँग सम्बन्धविच्छेद गरेका छन् । उनले एमीसँग सम्बन्धविच्छेद गर्दा १,२२१ करोडभन्दा बढी तिरेका थिए । स्टिभन स्पिलबर्ग केट क्याप्सासँग प्रेममा परेका थिए, त्यसैले उनीहरूले सम्बन्धविच्छेद भयो ।

ह्यारिसन फोर्ड–मेलिसा मैथिसन

हलिउड अभिनेता ह्यारिसन फोर्डले सन् २००४ मा श्रीमती मेलिसा म्याथिसनसँग सम्बन्धविच्छेद गरे । यस सम्बन्धविच्छेदपछि ह्यारिसनले मेलिसा म्याथिसनलाई १४४२ करोड दिएका थिए । ह्यारिसन फोर्डको अफेयरका कारण यो जोडीको सम्बन्ध टुटेको थियो ।

जेम्स क्यामरुन–लिन्डा ह्यामिल्टन

हलिउड फिल्म निर्माता जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ले वल्र्डवाइड बक्स अफिसमा २१ हजार करोड डलर कमाएको थियो । जुन विश्व चर्चित फिल्म पनि हो । जेम्स क्यामरुनको पत्नीसँग सम्बन्धविच्छेद भएको छ । जेम्सले सम्बन्धविच्छेद गर्दा पत्नी लिन्डा ह्यामिल्टनलाई ६१० करोड डलर तिरेका थिए ।

किन टिक्दैन सम्बन्ध ?

फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति रंगिन छ, भित्र त्यस्तो छैन । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन, भित्रीरुपमा उनीहरुले त्यो पाउँदैनन् । त्यसैले फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय लाग्दैन ।

नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्धहरु नटिक्नुको मुख्य कारण शंका पनि एक हो । शंकाकै कारण थुप्रै कलाकारको सम्बन्ध चट् भएको छ । नेपाली कला क्षेत्रमा थुप्रै स्थापित कलाकारहरु डिर्भोसी छन् । सम्बन्धमा रहेकाहरु पनि तनावमा छन् ।

अभिनेत्री निशा अधिकारीकै कुरा गरौँ, निशाले क्रिकेटर शरद भेषावकरसँग विवाह गरिन् । तर, यी जोडीको सम्बन्ध राम्रो छैन । शंकाकै भरमा आपसी सम्बन्धमा संकट परेपछि निशाले शरदविरुद्ध अंशवण्डाको मुद्दामा दायर गरेकी छन् । उक्त मुद्धा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ । निशा र शरदले २०७४ सालमा विवाह गरेका थिए । उनीहरुको एक छोरासमेत छन् ।

त्यसो त पछिल्लो समय प्रेम, विवाह र रोमान्सलाई पैसासँग तुलना गर्न थालिएको छ । सम्पतीकै लागि सम्बन्ध जोड्ने र भत्काउने खेल कला क्षेत्रमा मात्र नभएर समाजमै विकृतिका रुपमा देखिन थालेको छ । पछिल्लो समय उजागर भएका घटनाहरुलाई दृष्टिगत गर्ने हो भने ‘पैसा’ एक कारण देखिन्छ ।

अभिनेता पल शाह, क्रिकेटर सन्दीप लामिछानेका घटना प्रतिष्ठासँग जोडिएको छ । अहिले यो मामिलामा ‘नेपाल आइडल’ रवि ओड पनि मु्छिएका छन् । रविमाथि उनकी पत्नीले ‘वैवाहिक बलात्कार’ आरोपमा मुद्धा हालेकी छन् । तर, गायक रवि हाल विदेशमा रहेकाले यो मुद्धा अगाडि बढेको छैन ।

यस्तै, हालैमात्र गायक निशान निशान भट्टराईको पनि सम्बन्धविच्छेद भएको छ । निशान उनकी श्रीमती ऋचा न्यौपानेबीच यही गएको चैत महिनामा सम्बन्धविच्छेद भएको हो । निशान ०७५ सालमा नेपाल आइडल बनेका थिए । उनीहरूले ०७७ सालमा जिल्ला अदालत काभ्रेमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

यी परिघटनाले कलाकारिता क्षेत्रमा प्रेम, विवाह र सम्बन्धविच्छेद कतिखेर हुन्छ, निश्चित हुँदैन भन्ने दखाउँछ । भनिन्छ, ‘कलाकारको सम्बन्ध आज छ, भोलि छैन ।’ स्थापित कलाकारकै सम्बन्धविच्छेदको कुरा गर्दा पनि सम्पती र प्रतिष्ठाकै कारण देखिन्छ । नेपाली फिल्मका होनाहर निर्माता हुन् छविराज ओझा । तर, यिनको वैवाहिक जीवन पैसा, प्रतिष्ठासँगै उमेर र शंकाले सफल हुन सकेको छैन ।

छविराज ओझाले रेखा थापासँग सम्बन्धविच्छेद गरेपछि शिल्पा पोखरेलसँग नजिकिए । तर, छविराज र अभिनेत्री शिल्पाको सम्बन्ध पनि टिकेन । उनीहरुले विवाह दर्ता गरेको करिब ६ महिनामै सम्बन्धविच्छेद भयो । करिब तीन वर्ष ‘लिभिङ टुगेदर’मा बसेर उनीहरुले विवाह गरेका थिए । शिल्पाले घरेलु हिंसाको उजुरी गरेपछि उनीहरुको सम्बन्ध टुट्न पुग्यो । शिल्पा र छविको सम्बन्धविच्छेद हुनु उमेर अन्तर र शंकालाई कारण मानिएको छ ।

गायिका अन्जु पन्त र गायक मनोजराजको सम्बन्धविच्छेद पनि शंकाकै भरमा भयो । एक–अर्कालाई विश्वास नगर्दा उनीहरु छुटिए । मनोज र अन्जुको एक छोरी छन्, जो अहिले मोडलिङमा रमाइरहेकी छन् ।

अभिनेत्री रीमा विश्वकर्मा पनि डिर्भोसी हुन् । बिहे भएको दुई बर्षमै उनको डिभोर्स भएको थियो । रीमाको डिभोर्सको कारण पनि शंका नै थियो । विदेशमा रहेका उनका श्रीमानले र नेपालमा रहेकी रीमामाथि शंका गर्दथे । त्यसैले उनीहरु अलग भए ।

अर्की टिर्भाेसी हुन् अभिनेत्री प्रियंका कार्की । प्रियंकाले रोचक मैनालीसँग विवाह गरेकी थिइन् । उनीहरुले अमेरिकामा बिहे गरेका थिए । तर, प्रियंका नेपाल आएपछि फिल्ममा व्यस्त भइन् । त्यसपछि उनीहरु पुनः मिल्न सकेनन् । रोचकसँग सम्बन्ध्विच्छेद गरेपछि प्रियंकाले आयुष्मान देशराज जोशीसँग विवाह गरेकी छन् ।

कला क्षेत्रमा सम्बन्धविच्छेद गर्नेको सूची लामो छ । अहिलेसम्म जतिपनि कलाकारको सम्बन्धविच्छेद भएको छ, ती प्रतिष्ठा, सम्पत्ति र शंकाकै भरमा भएको पाइन्छ । ‘प्रेम र विवाहमा सबैभन्दा ठूलो विश्वास हो’ भनिन्छ, तर, कला क्षेत्रमा विश्वासको खडेरी लाग्दा सम्बन्धहरु टिक्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्