Logo
Logo

इजरायलमा इरानी हमला : अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन नेपाली दूतावासको अनुरोध



काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकल पालना पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत सहरहरुमा ड्रोन र मिसाइल आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।

नेपाली दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् । आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’

कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले सूचनामार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्