Logo
Logo

‘चिप्लाउने अंकल’ आफैँ चिप्लिए 



काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदी पछिल्लो समय ‘चिप्लाउने अंकल’को रुपमा परिचित छन् ।

उनले टेलिभिजनबाट कार्यक्रममार्फत कलाकारलाई विभिन्न प्रश्न सोधेर विवादमा ल्याउने गरेका छन् । सोही कारण केही कलाकारहरू सुवेदीको कार्यक्रममा जानै डराउँछन् । 

उनले ‘द प्रकाश सुवेदी’को पछिल्लो इपीसोडमा कलाकार केकी अधिकारीलाई निम्त्याएका थिए । सो कार्यक्रमको एउटा सेग्मेन्ट ‘चिन्नु हुन्छ’ भन्ने छ ।

उनले उक्त सेग्मेन्टमा नेता, कलाकारलगायत विभिन्न व्याक्तित्वकाे फोटो राखेर चिन्नु हुन्छ भन्ने प्रश्न गर्छन् । ‘चिन्नु भएन भने पनि यो लोकसेवाको जाँच होइन, म चिनाइदिन्छु’ भन्ने गरेका छन् ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको तस्बिर देखाउँछन् । केकी अधिकारीले उहाँ त कलाकारजस्तो नलागेको भन्दै आफूले नचिन्ने बताउँछिन् । 

त्यसपछि सुवेदी भन्छन्– ‘रघुवीर महासेठ भन्ने नाम सुन्नु भएको थियो ? हो, उहाँ मन्त्री, यतिखेर चाहिँ उद्योगमन्त्री हुनुहुन्छ  ।’

सुवेदीले  उद्योगमन्त्री भन्दै चिनाएका रघुवीर महासेठ अहिले उद्योगमन्त्री होइन, उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । अहिलेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी हुन् । 

सधैँ अरूलाई चिप्लाउने सुवेदी अहिले आफै चिप्लिएपछि सामाजिक सञ्जालमा ट्रोल बन्न थालेका छन्  । ‘सधैँ अरूलाई चिप्लाउने अंकल, अहिले आफैँ चिप्लिए’ भन्दै टिकाटिप्पणी गरिरहेका छन् । 

कमेडी च्याम्पियनमा एक प्रतियोगीले प्रकाश सुवेदीको ‘चिप्लाउने पत्रकारिता’ माथि व्यङ्ग्य गरेका थिए । ‘नमस्ते आदरणीय दर्शकवृन्द । यो कार्यक्रम चिप्लेटी । म कार्यक्रमको सारथि चिप्लाउने अंकल’ भन्दै व्यङ्ग्य गरेपछि उनी ‘चिप्लाउने अंकल’को  उपनामले परिचित हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्