Logo
Logo

कतारी राजाको लागि तीन तहको सुरक्षा घेरा



काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा मंगलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । पश्चिम एशियाको महत्त्वपूर्ण शक्तिराष्ट्रको प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ ।

थानीलाई सरकारले उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरेको छ । राष्ट्र प्रमुखहरूलाई दिँदै आइएको उच्च प्रोटोकलको सुरक्षा दिन लागिएको हो । दुई दिन उनी सोल्टी होटेलमै रहने कार्यक्रम छ । स्रोतका अनुसार राजा थानीलाई नेपाली सेनाले पहिलो घेरोको सुरक्षा दिने छ । सेनालाई सशस्त्र र नेपाल प्रहरीले सघाउने छन् ।

अमिर अल थानीको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिबी अर्यालसँगको भेटवार्ताका क्रममा राजदूत अन्सारीले नेपाल सरकारले अघि सार्ने प्रस्तावमा सहयोग गर्न कतार तयार रहेको बताएका थिए ।

केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बांग्लादेशको भ्रमण सकेर त्यतैबाट नेपाल आउन लागेका हुन् । उनले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्