Logo
Logo

सशस्त्रका एसपी कामभन्दा प्रचार बढी



काठमाडौं । सशस्त्र प्रहरीका केही एसपीहरूमा कामभन्दा बढी प्रचार गर्ने मोह बढेको छ । केन्द्रीय सूचना शाखालाई जानकारी नदिई जिल्लाबाटै प्रवक्ताको नाम राखेर प्रचार गर्न थालिएको छ ।

मधेश प्रदेश र सीमा क्षेत्रमा रहेका एसपीहरूलाई सशस्त्र प्रहरी मुख्यालयले बोलाएर राजश्वमा कडाई गर्न निर्देशन दिएपछि उनीहरूले कामभन्दा पनि प्रचारलाई बढी ध्यान दिएका हुन् । रौतहटका एसपी बिक्रम हुमागाईं तस्करी धन्दा नरोक्ने तर, अघिल्लो वर्षदेखि यति मुल्यको सामान बरामद भन्दै प्रचार गर्न ब्यस्त छन् ।

रौतहट आएपछि तस्करी रोक्छु भन्दै प्रचार गरेका उनले रोक्न त परै जाओस् रोक्ने प्रयाससम्म गरेका छैनन् । तर, अघिल्लो वर्ष बरामद भएको सामानको विवरण प्रचार गरेर धन्दा चलाइरहेका छन् ।

इता, पर्साको पनि हालत उस्तै छ, कामभन्दा प्रचार बढी । भन्सार र राजश्व दुवैलाई सहयोग गर्ने भए पनि नेपाल प्रहरीले दुई सातामा करोडौंको सामान बरामद गर्दा सशस्त्र प्रहरी हेरेर बसेको छ । उता, बाँकेका एसपी विमल डांगी बढी बोल्दा मुख्यालय तानिएका छन् ।

सीमाको बिषयमा नबोल्नु भन्ने केन्द्रको आदेश नमान्दा आफ्नै बोली उनलाई भारी भएको छ । सीमा पिल्लरको बिषयमा जान्ने भएर बोलेको आरोप उनीमाथि छ । डांगीले पनि बाँकेका नाका खुल्ला गरेको श्रोतको दाबी छ । उनी गणपति भएदेखि सीमामा तस्करी रोक्न भन्दा कमाउ धन्दामा रमाएको श्रोतको दाबी छ ।

काम नगर्ने तर, प्रचार गर्ने अर्का एसपी हुन् कैलालीका दलबहादुर पाण्डे । उनी पनि काम कम प्रचार ज्यादा गर्छन । सीमा क्षेत्रमा उनले घुमुवा परिचालन गरेको आरोप छ ।

यता, इलाम, झापा, मोरङबाट हुने तस्करीले सीमा नाघेको छ । इलामको पशुपति नगरदेखि झापाको काँकडभिट्टा, टगनडुब्बा, गौरीगंज, भद्रपुर, मोरङको सोराभाग, रानी, बरडंगा, सुनसरीको हरिपुर, कप्तानगंजलगायतका नाकाबाट तस्करी मौलाएको श्रोतको दाबी छ । यस्तै, सिरहाको माडर, ठाडी, सर्लाहीको सिमरा, खुटौना, महोत्तरीको सम्सी, जलेश्वर नाका पनि तस्करीको केन्द्र बनेका छन् । पर्साको अलौ, भिश्वा, भिकम्पुरको तस्करी धन्दा पनि नरोकिएको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्